आईसीसी टी–ट्वेन्टी विश्वकपमा नेपाल बंगलादेशसँग पराजित

134 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकपमा नेपाल बंगलादेशसँग पराजित भएको छ। समूह चरणको अन्तिम खेलमा नेपाललाई बंगलादेशले २१ रनले पराजित गरेको हो।

१०७ रनको विजयी लक्ष्यसहित मैदानमा आएको नेपालले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनायो। योसँगै नेपालले विश्वकपमा खेलेका कुनै पनि खेलमा जित निकाल्न सकेन।

नेपालका लागि सर्वाधिक २७ रन कुशल मल्लले बनाए। उनले ४० बल खेलेका थिए। त्यस्तै दीपेन्द्रसिंह ऐरी २५ रन बनाएर आउट भए। कुशल र दीपेन्द्रले ५१ रनको साझेदारी गरे पनि जित निकाल्न सकेनन्।

आसिफ शेखले १७ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक बनाएनन्। ५ खेलाडी शून्य रनमा आउट भए। कप्तान रोहित पौडेल र सन्दीप जोरा १–१ रनमा पेभिलियन फर्किए। ओपन कुशल भुर्तेलले ४ रन बनाए।

नेपाललाई सस्तैमा समेट्न बंगलादेशका ताजिब हुसेनले ४ तथा मुस्तफिजुर रहमानले ३ र शाकिब अल हसनले २ विकेट लिए।

त्यसअघि टर हारेर ब्याटिङ गरेको बंगलादेश १ सय ६ रनमा अल आउट भएको थियो। १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै टेस्ट टोली बंगलादेशले नेपाललाई १ सय ७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालका सोमपाल कामीले इनिङको पहिलो बलमै बंगलादेशी ओपनर तान्जित हसनलाई बाहिर पठाए। कप्तान नजमुल हुसेन शान्तो ४ रनमा दीपेन्द्रसिंह ऐरीका बलमा बोल्ड भए। १० रन बनाएका लिट्टन दासलाई सोमपालले पेभिलियन फर्काए। तौहिद ह्रिदोय ९ रनमा कप्तान रोहित पौडेलको सिकार भएपछि पावरप्लेमा बंगलादेश ३१ रनमा ४ विकेट गुमाएको दयनीय अवस्थामा पुग्यो।

अनुभवी खेलाडी महमुदुल्लाह र शाकिब अल हसनको प्रदर्शन पनि निराशाजनक रह्यो। महमुदुल्लाहल ९ र शकिबले सर्वाधिक १७ रन बनाए। तन्जिम हसन साकिब सन्दीप लामिछानेको बलमा बोल्ड भए। जाकर अलीलाई बोल्ड गर्दै सन्दीपले ५४ इनिङमा १ सय टी–२० आई विकेट पूरा गरे। टी–२० क्रिकेटमा सबै भन्दा छिटो १ सय विकेट लिने बलरको सूचिमा सन्दीप दोस्रो स्थानमा छन्।