झार्लाङमा मकैबालीमा फौजी किराको प्रकोप

130 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ । धादिङको खनियावास गाउँपालिका–१ झार्लाङमा फौजी किराको प्रकोपले मकैबालीमा क्षति पुर्याएको छ । घोगा लाग्ने बेलाको मकैमा कीराले क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् ।


वैशाखको असिना पानीले नगदेबाली भित्र्याउन नपाए पनि मकै राम्रो फल्ने आशामा किसान थिए । अहिले उनीहरु निरास बनेका छन् । “वैशाखको असिना पानीले जौ, गहुँ, केराउ, आलुलगायत बाली नष्ट भयो । अहिले फेरि घोगा लाग्न थालेको मकै फौजी कीराले सखाप पार्दैछ”, झार्लाङका स्थानीय नासुन तामाङले भने, “महामारीको चक्रमा त फस्यौँ नै । बाली भित्र्याएर जीविका चलाउँला भन्ने आशा पनि रहेन ।”

खनियावासको उङ्गुल, नेक्सा, याङचेत, च्याङ्थली, फेङ्हुलगायतका करिब एक सय ५० रोपनी जग्गामा लगाएको मकैबालीमा फौजी कीरा लागेको हो । “दिनदिनै कीराको प्रकोप बढेको छ । औषधि प्रयोग गरे पनि कीरा नियन्त्रणमा आएको छैन । चिमोट्दै मार्दै गरेका छौँ । तर प्रकोप यसरी आयो कि हामीले नियन्त्रण गर्नै सकेनौँ”, तामाङले भने ।

आसपासका सबै किसानले एकै चोटी विषादी हाले मात्रै फौजी कीरा नियन्त्रण गर्न सकिने खनियावास गाउँपालिकाका कृषि शाखा प्रमुख सुस्मिता तिवारी बताउँछन् । “फौजी कीरा नियन्त्रणका लागि इमिडाक्लोरोपिड, इस्पिनोस्याड विषादी प्रयोग गर्न सकिन्छ”, तिवारीले भने, “केही दिन अगाडि किसानले हामीलाई जानकारी गराएपछि विषादी दिएर पठाएका थियौँ । थोरै मात्रै क्षति पु-याएको थियो, सखापै पारेको भए सबै किसानलाई विषादी प्रयोग गर्न लगाउँछौँ ।”

अमेरिकन फौजी किरा (फल आर्मीवर्म) मकैबालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो । यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्र्युगिपेर्डा हो । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरूमा पाइने यो कीरा सन् २०१६ मा पहिलो पटक अमेरिकामा देखा परेको थियो । गर्मी महिनामा एक रातमै एक सय किलोमिटरभन्दा लामो यात्रा गर्न सक्ने यो मिचाहा कीरा पुतली समूहमा पर्छ र राति सक्रिय हुन्छ । बालीमा क्षति पुर्‍याउने चाहिँ कीराको लार्भाले हो । फौजी कीराको लार्भा धेरै खन्चुवा हुन्छ । मकैको पात, गुभो, जुँगा र घोगा समेत खाइदिन्छ ।