शंकास्पद सुटकेशले सदरमुकाममा मच्चायो आतंक

452 पटक पढिएको

सम्पादक: Dhading News

धादिङबेसी -सदरमुकाम धादिङबेसी बिचबजार चोक नजिक पार्किङ गरी राखेको सवारी साधनमा अज्ञात व्यक्तिले ब्रिफकेस राखर हिंडेपछि बजारक्षेत्रको जनजिवन आतंकित भएको छ ।
त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठले घर अगाडी रोकेर राखेको े बा १६ च ९१७२ नम्बरको गाडीमा अन्दाजी ३०÷३५ बर्ष जतिका एक पुरुषले सुटकेश राखेर फरार भएपछि वजार क्षेत्रमा तनाव भएको हो ।

घटनास्थल नजिकै रहेका पत्रकार शिव सिलवालका अनुसार छोटो कपाल, निलो रंगको स्पोर्ट गन्जी र खैरो पाइन्ट लगाएको एक युवक गाडी नजिकै केहीबेर उभिएर सुटकेश राखेर फरार भएका हुन । पत्रकार सिलवालका अनुसार ‘दिउसो करिब साढे दुई बजे तिर ती व्यक्तिले सुटकेश राखेको हो । सुटकेस राख्दै गर्दा देखेपनि कार धनीकै मान्छे होला भनेर केही नभनेको सिलवालले धादिङ न्यूजलाई वताए ।
शंकास्पद वस्तु राखिएको कार भएको क्षेत्र दिउँसो ३ वजे पछि प्रहरीले सिल गरेर सुरक्षा सर्तकता अपनाएको हो । शंकास्पद वस्तुको डिस्पोजलका लागि नेपाली सेनाको बैरेनी स्थित श्री नं ६ बाहिनी अड्डाबाट विज्ञ टोली ल्याईएको थियो ।
खैरो रंगको दुई स्टेप भएको घिसार्न मिल्ने सुटकेश गाडीको पछिल्लो सिटमा छाडिएको थियो । शंकास्पद देखिएपछि कार पार्किङ गरेको वरपर हिडडुल गर्न रोक लगाएको थियो । कार धनी नारायण कुमार श्रेष्ठ पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष एवम् धादिङबेसी बिच वजारमा रहेको त्रिपुरा पुस्तक पसलका संचालक हुन ।
शंकास्पद झोला गाडिमा राखेर फरार भएको आशंकामा एक युवकलाई प्रहीले पृथ्वीराजमार्गको फुर्केखोलाबाट नियन्त्रणमा लिएको छ । घटनास्थलमा देखिएको सिसिटिभिको फुटेज, स्थानीयको वयान अनुसार हुलिया मिलेकाले धादिङकै त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानकोट तिलाहार घर भएका ति युवालाई नियन्त्रणमा लिई अनुसनधानका लागि सदरमुकाम ल्याईदै गरिएको प्रहरीले जनाएको छ ।