काठमाडौँ उपत्यका लगायत  देशभरका विभिन्न स्थानमा वर्षा जारी

185 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ- गएरातिदेखि काठमाडौँ उपत्यका लगायत  देशभरका विभिन्न स्थानमा वर्षा जारी छ।लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्ते लगायत खोलामा जलसतह  बढेर बाढी बस्तीमा पस्न थालेको छ ।

यहाँका कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागकाअनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ ।

काठमाडौँ उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । हालसम्म बाढीबाट उपत्यकामा मानवीय तथा भौतिक क्षति नभएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं २०  विपद् उद्धार उपत्यका  गणबाट सशस्त्र प्रहरी उपरीक्षक पूर्णबहादुर साउदको ‘कमाण्ड’मा उपत्यकाका विभिन्न स्थानमा तीन सयभन्दा बढी फौज परिचालन भएको छ।

उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला,  जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ।

निरन्तरको वर्षासँगै देशभर भएका विपद्का घटना र ती घटनाको व्यवस्थापनबारे छलफल गर्न अहिले गृहमन्त्रालयमा आपत्कालीन बैठक जारी छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा भएको सो बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका उच्च अधिकारीलगायतको उपस्थिति छ।