बालिकालाई बलि दिन भारत लैजाने गिरोहलाई जिल्ला अदालत धादिङले तोक्यो जेल सजायँ

358 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ न्यूज
धादिङ,२९ असार । धादिङकी एक १६ वर्षीया किशोरी लाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई  मानव बेचविखन तथा ओसारपासार र संगठित अपराधको कसुरमा जेल सजायँ तोकिएको छ ।

जिल्ला न्यायाधीश गाेपाल प्रसाद बास्ताेलाकाे ईजलासले दुई छुट्टाछुट्टै मुद्दामा ८ जना मध्ये ३ जनालाई सफाई दिएकाे र ५ जनालाई कसुर कायम गर्दै कैद जरीवाना र पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको हो ।

फैसला अनुसार धादिङको त्रिपुरासुन्दरी गाउँ पालिका-३ कि २९ वर्षीया गीता न्याैपाने, काठमाडौ जिल्ला कागेश्वरी मनहरा नगरपालिका -६ कि ३२ वर्षीया कविता बानियाँ (आचार्य) र साेलुखुम्बु जिल्ला नेचा सल्यान गाउँ पालिका-२ कि ३३ वर्षीया कमला परियारलाई एउटा मुद्दामा १८ वर्ष ९ महिना र थप अर्को मुद्दामा १० वर्ष कैद र १ लाख ७५ हजार जरिवाना, पीडितलाई ५० हजार क्षतिपूर्ति दिन फैसलामा उल्लेख भएकाे जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले बताउनुभयाे ।

अदालतले त्रिपुरासुन्दरी गाउँ पालिका- १ का ३९ वर्षीय काेपिल दमै र त्रिपुरासुन्दरी गाउँ पालिका -३ कि ३९ वर्षीया कल्पना आलेमगरलाई जनही १५/१५ वर्ष कैद र एकएक लाख जरिवाना गर्ने फैसला समेत गरेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा १६ वर्षे नेपाली किशोरीको २०७९ पुस २० गते भारतको दिल्लीस्थित मङ्गलबजार गल्ली नं. २, बापरुल्लाबाट उद्दार गरी  एयर इण्डियाको जहाजद्वारा नेपाल ल्याइएको थियो । मामाघरमा बसेर अध्ययन गर्दै आएकी किशोरी  २०७९ मंसिर १५ गतेदेखि  घर परिवार आफन्तको सम्पर्कमा नआएपछि उनको  खोजतलास लागि प्रहरीलाई लिखित निवेदन दिईएको थियो ।

बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ ।आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण बालिका मामाघरमा बस्दै आएकी थिइन् । ती बालिकालाई प्रलोभन देखाउनेमा बालिकाको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ । अभियुक्तहरुले ६० केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाएको  अनुसन्धानामा संलग्न प्रहरीको भनाइ छ ।

किशोरीलाई २०७९ माघ २२ गते मुख्य तान्त्रिकलाई बुझाउने तयारी भईरहेको अबस्थामा किशोरीलाई २०७९ माघ २२ गते मुख्य तान्त्रिकलाई बुझाउने तयारी भईरहेको अबस्थामा बालिकाको उद्धार गरी नेपाल ल्याईएको थियो ।

किशोरीलाई दिल्ली पुर्‍याएपछि घटनामा संलग्न पाँचजना एकमहिना अघि नै नेपाल फर्केका थिए भने , एकजना महिलाले किशोरीलाई साथमा राखेर पूजामा बस्न फरक-फरक तीनजना तान्त्रिक बाबासमक्ष भेटाउँदै आएकी थिईन ।