नवनियुक्त कृषिमन्त्री अधिकारीको पदवहाली पछि भएको पहिलो निर्णय के होला ?

250 पटक पढिएको

सम्पादक: Dhading News

 

१ साउन, २०८१ –

काठमाडौं । नेपालमा नवनियुक्त मन्त्रीले पदभार ग्रहण गर्नेबेलामा एउटा निर्णयमा हस्ताक्षर गर्ने चलन रहँदै आएको छ । सोही चलन अनुसार नवनियुक्त कृषि तथा पशुंपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले सरकारले घोषणा गरेको कृषि दशकमा लगानी जुटाउने सम्बन्धी निर्णयमा हस्ताक्षर गर्नु भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार पदबहालीपछि मन्त्री अधिकारीले कृषि दशक सफल बनाउन आवश्यक लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नु भएको हो । मन्त्री अधिकारीले कृषि क्षेत्रको विकास भएमा मात्र मुलुकको विकासमा ठूलो सहयोग पुग्ने भएकाले सोहीअनुसार क्रियाशील हुन सम्बद्ध कर्मचारीलाई निर्देशन  दिनु भयो ।

गाउँमात्र नभई खेतीयोग्य तराईका फाँटसमेत बाँझो भएकाले त्यहाँ उत्पादन गराउन मन्त्रालय लागिपर्ने मन्त्री अधिकारीको भनाइ छ । ‘सांसद हुनुअघिसम्म आफूले खाने अन्न आफैँ उत्पादन गर्थेँ, गोलभेँडा, धान, मकै, कोदो उत्पादन गर्ने तरिका मलाई पनि थाहा छ’, उहाँले भन्नु भयो । , ‘अब हरेक नेपालीलाई आफ्नो खेतीयोग्य जमिनको उपयोग गर्न अभिप्रेरित गर्नुपर्नेछ । यसकार्यमा मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने खाँचो छ । हामी सबै मिलेर यसमा काम गर्नुपर्छ ।’ पदभार ग्रहणका लागि मन्त्रालय जानुअघि उहाँलाई धर्नामा बसेका कृषि प्राविधिकले आफ्ना समस्याका बारेमा जानकारी गराएका थिए ।

कर्मचारीका समस्या सुनेपछि मन्त्री अधिकारीले यस विषयमा अध्ययन गरी उपयुक्त निर्णय लिने प्रतिबद्धता समेत जनाउनु भएको थियो । पदभार ग्रहणका क्रममा आयोजित कार्यक्रममा मन्त्रालयका सचिवद्वय डा दीपक खराल र डा. राजेन्द्रप्रसाद मिश्रले भए गरेका गतिविधिबारेमा मन्त्री अधिकारीलाई जानकारी दिनु भएको थियो ।

मन्त्री अधिकारीले  आंफुले  प्राप्त गरेको जिम्मेवारीलाई परिणाममुखी बनाउन निष्ठापूर्वक सम्पूर्ण ऊर्जा लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

आंफुलाई जुन जिम्मेवारी वहन गर्ने क्रममा नेपालको संविधान, लोकतन्त्रप्रतिको प्रतिबद्धता र सुशासनलाई आत्मसात गर्दै अघि बढ्ने मन्त्री अधिकारीले वताउनु भएको छ ।

प्रचलित ऐन, नियमको अधीनमा रही आमनागरिकमा बढ्दै गैरहेको निराशालाई चिर्दै सरकारप्रति आशा र भरोसामा परिणत गर्न तथा नागरिकहरूलाई नेपाल सरकारप्रति पुर्ण विश्वास कायम गराउनका लागि नागरिकहरूले संघीय सरकारसंग राख्नुभएको अपेक्षालाई इमान्दारीताका साथ पारदर्शी ढंगबाट अधिकतम रूपमा सम्बोधन गर्न मेरो सम्पूर्ण ध्यान केन्द्रित रहनेछ मन्त्री अधिकारीले भन्नु भएको छ ।