धादिङ नेविसंघमा बन्यो समानान्तर समिति, गौली र श्रेष्ठ दुवैको आंफु अध्यक्ष भएको दावी

338 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ ७ साउन २०८१– नेपाली कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) धादिङमा  जिल्ला अध्यक्षमा दुई पक्षले आ–आफ्नो टिम घोषणा गरेका छन् ।
आइतबार कांग्रेस पार्टी कार्यालयमा एक कार्यक्रम गरी दिनेश श्रेष्ठको अध्यक्षतामा नयाँ समिति घोषणा गरिएपछि जिल्ला समिति दुई वटा बन्न पुगेको हो

नेविसंघ केन्द्रीय समितिले यस अघि सुदीप गौलीलाई अध्यक्षको जिम्मेवारी दिएपछि गौलीलाई अध्यक्ष स्वीकार गर्न नसक्ने भन्दै असन्तुष्ट देखिएको पक्षले दिनेश श्रेष्ठको अध्यक्षतामा समानान्तर समिति घोषणा गरेपछि पार्टी भित्रको अन्तरविरोध र कलह सतहमा देखिन पुगेको हो ।

समानान्तर समितिका अध्यक्ष दिनेश श्रेष्ठ नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी निकटका हुन । नेविसंघ केन्द्रीय समितिले अध्यक्ष बनाएर पठाएका गौली नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना पक्षका हुन् । गत जिल्ला अधिबेशनमा अधिकारी र ढुंगाना बिच पार्टीको जिल्ला सभापतिमा प्रतिस्पर्धा हुंदा ढुंगाना पराजित भई अधिकारी विजयी भएका थिए ।
पार्टी सभापति निकट रहेको समूहले केन्द्रीय समितिले जिल्ला अध्यक्षमा हस्तक्षेप गरेको आरोप लगाउँदै भूगोलमा चुनाव हुनुपर्ने माग राखी गौलीको नेतृत्वमा हुँदै आएका गतिविधिहरु अस्वीकार गर्दै आएका छन् । केही दिन अघि भएको एसईइ उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रम दुई वटा समूहले अलग अलग रुपमा आयोजना गरेका थिए ।गौली पक्षले आयोजना गरेको एसइइ उत्तिर्ण बिद्यार्थीको सम्मान कार्यक्रममा ढुंगाना उपस्थित रहेका थिए ।

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले २०७९ फागुन १८ गते तीन महिनाभित्र जिल्ला अधिवेशन सक्ने गरी गौलीलाई अध्यक्षमा नियुक्त गरेका थिए । कांग्रेस जिल्ला कार्य समितिसँग नेविसंघ केन्द्रीय कमिटिले अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गर्न माग गरेको भएपनि जिल्लाले नाम पठाउन नभ्याउँदै शेर्पाले गौलीलाई जिल्ला अध्यक्ष पदमा नियुक्ति गरेको पत्र पठाएपछि विवाद उत्पन्न भएको हो । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सिफारिस बिना नेविसंघ केन्द्रबाट गुुटगत आधारमा गौलीको नाम पठाएको भन्दै कांग्रेस जिल्ला कार्यसमितिले गौलीलाई अध्यक्ष स्वीकार गरेको छैन ।