धादिङको पहिलो हाईस्कुलका संस्थापक हेडमास्टर शर्माको सम्मानमा प्रतिष्ठान

3371 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,७ साउन २०८१ । धादिङ जिल्लाको पहिलो हाइस्कूल आदर्श माध्यमिक विद्यालय गजुरीका संस्थापक हेडमास्टर ठाकुर प्रसाद शर्माको सम्मानमा उहाँका बिद्यार्थीहरुले ठाकुर प्रसाद शर्मा प्रतिष्ठान स्थापना गर्ने भएका छन् । धादिङको गजुरीमा २०२५ सालमा स्थापना भएको आदर्श हाईस्कुलनै जिल्लाको पहिलो माविका रुपमा चिनिन्छ । ७८ बर्षिय शर्माले आदर्श माविमा १७ बर्ष प्रधानाध्यापक पदको जिम्मेवारी सम्हालेर पेन्सन समेत नलिई जागिर छाड्नु भएको थियो ।

बिद्यालय स्थापना गरेर  अहिले सयौं व्यक्ति देशका उच्च तह सम्म पुग्न सफल हुनुका साथै देशका विभिन्न क्षेत्रमा योगदान दिन सक्ने सक्षम हुन बिद्यालय र शिक्षकको भूमिका महत्वपूर्ण रहेकाले यो अवसर जुटाईदिने सम्मानित व्यक्तित्वलाई सदैव सम्झनामा राख्न प्रतिष्ठानको स्थापना गर्न लागिएको अभियानका परिकल्पनाकार डाक्टर सदानन्द कँडेलले वताउनु भयो ।

जिल्लाकै पहिलो हाईस्कुलका संस्थापक,प्रधानाध्यापक एवम पूर्वमन्त्री ठाकुर प्रसाद शर्माको सम्मानका लागि गठन गर्न लागिएको प्रतिष्ठान मार्फत शैक्षिक उन्नयनका गतिविधिका साथै विभिन्न पुरस्कार स्थापना गरि हरेक बर्ष वितरण गरिने वताईएको छ ।गुरुको सम्मानमा स्थापना हुन लागेको प्रतिष्ठानको कोषमा शिष्यहरुबाट साउन ७ गते साँझ ७ वजे सम्ममा २३ लाख ३० हजार ५८३ रुपैयाँ बैंकमा जम्मा  भईसकेको र सहयोग आउनेक्रम जारी रहेको वताईएको छ ।

प्रतिष्ठान मार्फत  अक्षय कोषको स्थापना गरी त्यसबाट आउने ब्याजले ठाकुर प्रसाद शर्मा शिक्षा पुरस्कार, आदर्श हाइस्कूलका संस्थापक शिक्षकहरूको सम्मानमा आदर्श शिक्षक पुरस्कार,आदर्श हाइस्कूलका संस्थापक सन्चालक समितिका पदाधिकारीहरूको सम्मानमा आदर्श शिक्षासेवी पुरस्कार, आदर्श माविबाट हरेक बर्ष एसईईमा सर्वप्रथम हुने विद्यार्थीका लागि लागि आदर्श विद्यार्थी पुरस्कार र छात्राहरूमध्येबाट एसईईमा हरेक बर्ष सर्वप्रथम हुने एक जनाको लागि आदर्श छात्रा पुरस्कार स्थापना गरिने प्रतिष्ठान स्थापना कार्यदलका संयोजक डाक्टर  कँडेलले जानकारी दिनु भयो ।अहिले प्रतिष्ठानको विधान र पुरस्कार वितरणको कार्यविधि तयार पार्ने काम भईरहेको डाक्टर कँडेलले वताउनु भयो ।

प्रतिष्ठान स्थापनाका बिषयमा छलफल गर्न साउन ६ गते गुरुपूर्णिमाको अबसर पारेर शिक्षक शर्माको निवासमा जम्मा भएका शिष्यहरुले उहाँको अभिनन्दन समेत गरेका छन् । सोही क्रममा तथा प्रतिष्ठान गठनका बिषयमा शर्मालाई जानकारी गराईएको थियो ।

आदर्श स्वर्ण स्मारिका २०७४ मा प्रकाशित विवरण अनुसार आदर्श हाईस्कुलको संस्थापक हेडमास्टर ठाकुरप्रसाद शर्मा, सहायक हेडमास्टरमा सुमनदास श्रेष्ठ र शिक्षकहरुमा सुदर्शन पाण्डे,विद्यासागर कडेल, कृष्णप्रसाद खरेल,खेमराज उप्रेती,भुवनबहादुर उप्रेती, टिकाबहादुर उप्रेती ,हेमराज कडेल, विष्णुकुमार श्रेष्ठ र कृष्ण गौतम रहेका थिए ।

शर्माले पढाउनु भएका बिद्यार्थीहरु मध्ये डा.पुष्प कँडेल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राजेन्द्र पाण्डे स्थानिय विकास मन्त्री तथा वागमती प्रदेशको मुख्य मन्त्री, सुरेन्द्र पाण्डे अर्थमन्त्री, शालिकराम जमकट्टेल वागमती प्रदेशको मुख्य मन्त्री, भूमि त्रिपाठी, मायानाथ शर्मा सांसद,इन्द्र खरेल बरिष्ठ अधिबक्ता,डा.रोजनाथ कँडेल नेपाल सरकारको सहसचिव जिम्मेवारी बहन गरिसकेका छन् । शर्माका शिष्यहरु आज धेरै जना फरक फरक क्षेत्रमा स्थापित भईसकेका छन् ।