नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने

152 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । महाधिबेशन सकिएको महिना दिन पुग्न लाग्दा पनि केन्द्रिय कमिटिका पदाधिकारी र केन्द्रिय सदस्य चयन गर्न नसकिरहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि सोमबार बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार १: ०० बजे बस्ने भएको छ ।

पार्टी विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब ३२९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ ।

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने बैठकका एजेण्डा रहेका छन् ।

एकीकृत समाजवादीले १० औँ महाधिवेशन सकेको एक महिना बित्दा पनि पदाधिकारी चुन्न सकेको छैन। पदाधिकारी चुन्न नसक्दा अहिले  पार्टी तीन नेताका भरमा चलेको छ। महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई मात्र चुनेको थियो ।

एकातिर सत्ता गठबन्धनमा परिवर्तन र अर्कातिर पार्टीभित्रको गुटगत राजनीतिले महाधिवेशनले नेता  चुन्न सकेको थिएन। । समाजवादीको महाधिवेशन चल्दै गर्दा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन बन्यो। यही विषयलाई निहुँ बनाएर समाजवादीले महाधिवेशन छिटै सकेको थियो।

नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा दुई नेताले दाबी गरेपछि अध्यक्ष माधवकुमार नेपाल सकसमा परेकमा छन्। पार्टीमा नेताहरू बेदुराम भुसाल र राजेन्द्र पाण्डेले वरिष्ठ उपाध्यक्षमा आकांक्षा देखाएका हुन्।समाजवादी स्थापनाका बेला भुसाल महासचिव र पाण्डे उपाध्यक्ष थिए। घनश्याम भुसाल महासचिव भएपछि बेदुराम उपाध्यक्ष बनेका थिए।

समाजवादी निकट स्रोतका अनुसार झलनाथ-घनश्याम अहिले बेदुरामको पक्षधर बनेका छन्। नेपाल भने पाण्डेका पक्षमा छन्।