गर्दोखोलाले बैरेनी वजारमा मच्चायो वितण्डा,खोला मिचेर बनाईएका संरचनाले थपियो समस्या

256 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १६ साउन । अविरल बर्षा पछि  धादिङको गल्छी गाउँपालिकामा पर्ने पृथ्वीराजमागको बैरेनी गल्छी अस्तव्यस्त बनेको छ । राती देखि अबरुद्ध सवारी आवागमन विहानै देखि दुई तर्फि खुलेको भएपनि सडकमा जमेको लेदोका कारण राजमार्गमा सवारी आवागमन निकै कठिनाई भएको छ ।

रातभरीको बर्षा पछि बैरुेनी वजार क्षेत्र भएर वग्ने गर्दो खोलामा पानीको वहाब बढ्न गई खोला राजमार्ग र बस्तीमा पसेको छ । खोलाको सिमा क्षेत्र अतिक्रमण गरी पक्कि संरचना निर्माण हुनेक्रम बढ्दै गएपछि खोला बस्ती र सडकमा वग्न थालेको हो ।

गर्दो खोलामा आएको बाढीका कारण बैरेनी बजार क्षेत्र अस्तव्यस्त बनेको छ । खोला बढेर बैरेनी अस्पताल क्षेत्रमा घर भित्र बाढी पसेको छ । अस्पताल चोकमा रहेको प्रेम मेडिकल हल पुरै डुवानमा पर्दा मेडकल संचालक प्रेम अधिकारीको एउटा गाडी समेत बाढीले पुरेको छ । बाढीले प्रेम मेडिकल हल पुर्ण डुबानमा परेको छ । घर भित्र बाढी पस्दा औषधि र अन्य मेडिकल उपकरण कामै नलाग्ने गरी पुरै डुबेको संचालक अधिकारीले वताए ।

मंगलबार राती देखि धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनी बजार,वडा नम्बर ७ को सिमवजार पृथ्वीराजमार्ग क्षेत्र डुवानमा परेर अस्तव्यस्त बनेको छ । बैरेनी वजारको किनारमा रहेको गर्दो खोला धेरै बर्ष देखि अतिक्रमणको चपेटामा पर्दै आईरहेको छ । खोला मिचेर निजी तथा व्यवसायिक भवन निर्माण हुनेक्रम बढ्दै गएको छ । खोलाको क्षेत्रफल साँघुरो वनाएपछि पानीको बहाव बढ्नासाथ खोला बस्ती र सडक तिर उक्लिएर बग्ने गरेको छ ।

खोला अतिक्रमण गरि बस्ती बिस्तार गर्ने क्रम बढेपनि स्थानीय सरकार, प्रहरी प्रशासनले बेलैमा यस्ता गतिविधि नियन्त्रण गर्न चासो नदिंदा बर्षेनी समस्या बढ्दै गएको छ ।