कालोपत्रे भएको दुई महिना नवित्दै भासियो मिलनटार–पर्खाले सडक

309 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ ३१ साउन २०८१ । निर्माण सम्पन्न भएको दुई महिना नवित्दै धादिङको गजुरी गाँउपालिका वडा नं. ६ आदमघाटबाट किरान्चोक हुदैं मकवानपुरको चौतारा जोड्ने सडकको कालोपत्रे सहित ठाउँ ठाउँमा भासिएको छ ।

असार मसान्त अघि मिलनटारदेखि पर्खालेसम्मको चार दशमलव दुई किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको थियो । सडकको स्तरउन्नती र कालोपत्रे गर्ने काम नाना कन्स्ट्रक्सन प्रालिले गरेको हो ।

मिलनटार चोकदेखि पर्खालेसम्मको चार दशमलव दुई किलोमिटर सडक कालोपत्रे गर्ने काम निर्धारित समय भन्दै अघि सम्पन्न भएको भन्दै निकै चर्चामा आएको थियो । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले २०८१ साल पुष १८ गते कार्य सम्पन्न गर्ने गरी २० करोड ४९ लाख ८१ हजार १० रुपयाँमा २०८० असार १३ गते नाना कन्स्ट्रक्सन संग सम्झौता गरेकोमा सम्झौताको अवधि सकिनु भन्दा छ महिना अघि नै निर्माण कम्पनीले काम सम्पन्न गरेर चर्चा पाएको थियो ।

 

कालोपत्रे गर्नु अघि ग्याविन भरेर बनाईएको सडकको साईड, मेसेनरी वाल लगाएका स्थानहरुमा सडक भासिएको छ । दरियाल फाँटमा चार स्थानमा, गरापारेमा एक स्थान र खोलेखोल्सा नजिक एक स्थानमा गरी करिव दुई सय मिटर सडक भासिएको स्पष्ट देखिन्छ ।

सडक भासिएपछि स्थानीयहरु अन्योलमा परेका छन् । यता भासिएको सडकमा पानी नपसोेस भन्नाको लागि निर्माण कम्पनील माटो भरेपछि तोकिएको समय अघि काम सम्पन्न गरेको भनेर स्यावासी पाएको निर्माण कम्पनीको विरोध हुन थालेको छ ।

सडक भासिएको स्थानमा माटोले पुरेको विषयमा जानकारी लिदा निर्माण कम्पनीका नारायण कुमार श्रेष्ठले बर्खामा पानी पसेर थप क्षति नहोस भन्नाको लागि तत्कालको लागि संरक्षण गरेको बताए । निर्माण कार्य सकेको एक वर्षसम्म सडकको मर्मत संभार गर्ने काम निर्माण कम्पनीकै हुने व्यवस्था रहेकोले बर्षा सकिएपछि मर्मत गछौ । सडक भासिएको र माटोले पुरेको विषयमा स्थानीयले  चिन्ता लिनु स्वभाविक हो, उहाँहरुको सचेतना र खबरदारीलाई ख्याल गर्दै  भत्किएको सडक कम्पनीले बनाउने श्रेष्ठले बताए ।

सडक निर्माण सकिएको एक वर्ष सम्म सम्वन्धीत निर्माण कम्पनीले नै मर्मत सम्भार गर्ने व्यवस्था रहेको छ । अहिले वर्षा जारी रहेको र सडक आगमनमा बाँधा नपरेकाले काम गर्न रोकेका छौ । वर्षा कम भएपछि भासिएको सडक मर्मत सम्भार गराउछौ प्रादेशिक डिभिजन कार्यालय धादिङका प्रमुख निरज दहालले बताए ।