थोपलखोलामा पुल बनाईदिन भौतिक पूर्वाधार मन्त्रीलाई एमाले धादिङको अनुरोध

189 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौं,१३ भदौ बिहीबार २०८१ । धादिङ जिल्लाको सदरमुकामबाट जिल्लाको उत्तरी भेग जोड्ने धादिङबेसी साङकोष तिप्लिङ सडक खण्डको थोपलखोलामा पुल निर्माणको व्यवस्था गरिदिन नेकपा एमाले धादिङको नेतृत्वले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेटेर आग्रह गरेको छ ।

नेकपा एमाले धादिङका इन्चार्ज एवम प्रतिनिधि सभा क्षेत्र नम्बर २ धादिङ का पूर्व सांसद खेमप्रसाद लोहनीको नेतृत्वमा गएको  टोलीले बिहीबार मन्त्री दाहाललाई  मन्त्रालयमा पुगेर माग पत्र बुझाउँदै थोपल खोलामा पुल नहुँदा आम नागरिकले भोग्नु परेको सास्तीका वारेमा जानकारी गराएको हो ।

प्रतिनिधि मण्डल संग कुराकानी गर्दै मन्त्री दाहालले यो बर्ष को वजेट विनियोजन भईसकेको  र पुल निर्माणका लागि डिपिआरको लागि बजेट परेको जानकारी दिनु भयो । अहिले तत्कालको लागि बेलिबृजको व्यवस्था गरिहाल्ने र पक्की पुलको लागि सकेसम्म यसै वर्ष काम सुरु गर्ने उहाँले वताउनु भएको छ । यो वर्ष बजेट बाडफाँड भैसकेकोले पक्की पुलको काम यसै बर्ष सुरु गर्न नसके अर्को बर्ष फास्ट ट्र्याकमा काम हुनेगरी बजेट बिनियोजन गर्ने प्रतिवद्दता मन्त्री दाहालले जनाउनु भएको एमाले नेत्तृत्वले जानकारी दिएको छ ।

मन्त्रीलाई भेट्न जाने टोलीमा नेकपा एमाले धादिङका अध्यक्ष एवम प्रतिनिधि सभा क्षेत्र नम्बर १ धादिङ का पूर्व सांसद भूमि प्रसाद त्रिपाठी,  एमाले धादिङका उपाध्यक्ष अर्जुन श्रेष्ठ गोर्खाली, सचिव राधिका सापकोटा, उपसचिव उर्मिला रेग्मी, एमाले नेताहरु उमेश थापा, नेत्रप्रसाद नेपाल, दुर्गाकुमार शाक्य लगायत हुनुहुन्थ्यो ।

सदरमुकाममा रहेको थोपलखोलामा पक्की पुल बन्न नसक्दा जिल्लाको रुवीभ्याली,खनियावास, नेत्रावती डवजोङ, गंगाजमुना, त्रिपुरासुन्दरी गाउँपालिकाका वासिन्दाले सदरमुकाम आवत जावत गर्न आकाश सफा भएको दिन कुर्नुपर्ने अवस्था रहेको छ ।

गएको मंगलबार राती आएको बाढीले थोपलखोला कजवेको साङकोष तर्फको एप्रोच रोड बगाईदिंदा दुई दिन सम्म यातायात गुड्न रोकिएको थियो । बाढीले बगाएको भागमा नीलकण्ठ नगरपालिकाले तारजाली हालेर वनाएको भएपनि खोलामा पानीको वहाब बढ्दा जुनसुकै बेला सडक अबरुद्ध हुने अवस्था रहेको छ ।

जिल्ला सदरमुकामबाट उत्तरी धादिङ जोड्ने मुख्य सडक खण्डमा एउटा पक्की पुल नहुँदा आम नागरिकले खेप्नु परेको सास्तीलाई अन्त्य गर्न तत्कालका लागि वेलिव्रिज र दिर्घकालिन रुपमा पक्कप् पुल निर्माणको व्यवस्था गरिदिन मन्त्री संग छलफल भएको र यस बिषयमा मन्त्री दाहाल सकारात्मक हुनु भएकोले छिट्टै पुल निर्माणका काम अघि बढ्ने विश्वास गरिएको नेकपा एमाले धादिङका इन्चार्ज एवम पूर्व सांसद खेम लोहनीे वताउनु भयो ।

मन्त्री संगको भेटमा जिल्ला सदरमुकामको थोपलखोलाका साथै काष्टेखोलाको कजवे समेत बाढीले क्षती पु¥याएकाले त्यो ठाउँमा पक्की पुल निर्माणका लागि वजेट उपलव्ध गराईदिन समेत माग गरिएको लोहनीले जानकारी दिनु भयो ।