जीवन मरणको दोसाँधमा गल्छी ६ राहुडाँडाकी २१ बर्षिया अन्जली जीवन बचाईदिन सहयोगको लागि परिवारको अपिल

4266 पटक पढिएको

सम्पादक: Dhading News

केशव अधिकारी / धादिङ न्यूज

काठमाण्डौ,१४ भदौ २०८१ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ राहुडाँडाकी २१ बर्षिया अन्जली खनालमाथि ठूलो बज्रपात आईपरेको छ । ब्रेण्ड सिजरका (मस्तिष्कको शिशिलता )  कारण उनी अहिले जीवन मरणको दोसाँधमा छिन् । अन्जलीलाई बचाउनका लागि आवश्यक सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

काठमाण्डौंको स्टार अस्पतालमा उपचार गराईरहेकी अन्जलीको उपचारका लागि आर्थिक संकट परेपछि परिवारले सहयोगको लागि अपिल गरेको हो ।

गएको ३ महिना देखि अस्पतालमा राखेर छोरीको उपचार गराईरहेको खनाल परिवार यति बेला चरम आर्थिक संकटमा परेको छ । अन्जलीकी आमा गंगा ढुंगानाका अनुसार ३ महिना देखि स्टार अस्पतालमा अन्जलीको नियमित उपचार भईरहेको छ ।

आर्थिक अभावको कारण उपचार गराउन नसक्ने अवस्था बन्दै गएपछि  सहयोगको लागि परिवारले सबैसँग आग्रह गरेका छन् । उनको उपचारको लागि भनेर अन्जलीकी आमा गंगा वैदेशिक रोजगारबाट छुट्टी लिएर नेपाल  फर्किएकी छिन् । हरपल अस्पतालमा रहेकी विरामी छोरी को यादले छटपटाहट भएकोले आंफु छोरीको उपचारका लागि विदेशबाट फर्किएको गंगाले  धादिङ न्यूजलाई बताईन् ।

 छोरीको उपचारमा डाक्टरले करिब २५ लाख भन्दा बढी खर्च लाग्छ भनेको बताउँदै गंगाले आफूसँग त्यत्रो पैसा नभएको भन्दै सबैलाई सहयोगका लागि याचना गरेकी हुन् ।

ब्रेण्ड सिजरका कारण निकै जटिल अबस्थामा पुगेकी अन्जलीलाई आईसियुमा राखेर उपचार गराउनु पर्ने अबस्था रहेको छ । अन्जलीको उपचारका लागि अहिले सम्म १५ लाख भन्दा बढी खर्च भइसकेको र अब थप १०/१२ लाख लाग्न सक्ने अस्पतालले जानकारी दिएकाले छोरीको जिवन रक्षाका लागि आंफुले सहयोगको याचना गरेको गंगाले वताईन् ।

अन्जलीका बुबा सुमधुर खनाल प्राथमिक शिक्षक हुन् ।आमा गंगा बैदेशिक रोजगारीका लागि साईप्रस रहेकोमा छोरीलाई अस्पताल भर्ना गरेपछि नेपाल आएर ३ साता पछि पुन रोजगारीमा फर्केकोमा छोरीको स्वास्थ्य अवस्था जटिल वन्दै गएपछि भदौ १४ गते विहान फेरी नेपाल आईपुगेकी छिन ।

आंफुहरुको आर्थिक अबस्था निम्न रहेको र छोरीको उपचारका लागि दिनदिनै खर्च थपिंदै गएकोले सहयोगीदताहरुबाट सहयोगका लागि अनुरोध गर्न परेको आमा गंगाले वताईन् ।

निम्न आयस्तरका खनालले छोरीको उपचारका लागि श्रोत जुटाउन सक्ने अवस्था नरहेको बताए । सहयोग गर्न इच्छुक व्यक्तिले अन्जलीका बुबा सुमधुर खनाललाई स्टार अस्पताल गएर सिधै भेट्न या ९७४५२९७२७० सम्पर्क गर्न सक्नुहुनेछ । सहयोगी दाताहरुले अन्जलीको दिदि अन्जना खनालको नाममा रहेको इसेवामा रकम पठाउन सक्नुहुनेछ ।

अस्पतालका चिकित्सकहरुले अन्जनाको उपचारका लागि भारत लैजानु पर्ने सुझाव दिएका छन् । अहिले सम्मको उपचारले विरामीको अवस्थामा खास सुधार नआएकोले रोग पहिचानका लागि भारत लैजानु पर्ने सल्लाह डाक्टरहरुले दिएपछि खनाल परिवारलाई अबको उपचार कसरी अघि बढाउने भन्ने समस्या आएको हो ।