पहिरोले अलपत्र २२ सय यात्रुलाई सुरुङ मार्गबाट काठमाडौं पठाईयो

1959 पटक पढिएको

१३ आश्विन २०८१, आईतवार १८:०६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ १३ असोज २०८१ । देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने नागढुंगा-नौविसे सडक खण्डमा पहिरो खसेर अलपत्र परेका यात्रुहरूलाई नागढुंगा–सिस्नेखोला  सुरुङ मार्गको प्रयोग गरी काठमाडौं पठाइएको छ । नागढुंगाप्रवेश गर्ने सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर यातायात ठप्प भएपछि यात्री उद्दारका लागि सुरुङमार्ग प्रयोग गरिएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालका अनुसार बाटोमा अलपत्र परेका २२ सय यात्रुलाई जिल्ला प्रहरी कार्यालय धादिङले काठमाडौँ प्रहरीसँग समन्वय गरेर  सुरुङ मार्गको प्रयोग गरी काठमाडौं पठाइएको हो ।

सडक विभाग र चन्द्रागिरि नगरपालिकाको पहलमा यात्रुलाई उद्दार गर्न नगरपालिकाले उपलब्ध गराएको बसमार्फत सुरुङमार्ग हुँदै काठमाडौं लैजाने व्यवस्था गरिएको छ। शनिबार पहिरोमा अलपत्र परेका यात्रुलाई पनि सुरुङमार्ग आयोजनासँग समन्वय गरी उद्धार गरिएको थियो।

 करिब २२ सय  यात्रुको उद्दार गरिएको सुरुङमार्ग आयोजनाले जनाएको छ। अत्यावश्यक ढुवानीका सवारीसाधनलाई खानीखोला तर्फबाट सुरुङमार्ग हुँदै काठमाडौँ प्रवेश गराइएको छ ।

सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार पहिरोले बीचसडकमै रोकिएका यात्रुलाई निर्माणाधीन सुरुङमार्गको प्रयोग गरेर काठमाडौं ल्याउन सहजीकरण गरिएको हो।