विद्युत प्राधिकरणमा युनाईटेड सिमेण्टको बक्यौता ११ करोड ३६ लाख ८३ हजार ९ सय ९ रुपैयाँ ६३ पैसा 

210 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं २४ असोज २०८१ । नेपाल विद्युत प्राधिकरणले धादिङको धुनिबेशी नगरापालिकाको टायलघरमा रहेको युनाइटेड सिमेण्ट सहित ४९ वटा उद्योगलाई डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता तिर्न  निर्देशन दिएको छ ।प्राधिकरणले प्रकाशित गरेको सूचना अनुसार ग्राहक नम्बर २५–२५–५७० रहेको युनाईटेड सिमेण्ट प्रा.लि.ले मात्रै बुझाउनु पर्ने डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता ११ करोड ३६ लाख ८३ हजार ९ सय ९ रुपैयाँ ६३ पैसा  देखाईएको छ ।

प्राधिकरणले असोज २४ गते बुधबार ४९ वटा उद्योगको नाममा सूचना जारी गर्दै कात्तिक ८ गतेभित्र बक्यौता तिर्न निर्देशन दिएको  छ । उक्त अवधिभित्र बक्यौता नबुझाए कानुन बमोजिम असुल उपर गरिने प्राधिकरणले जनाएको छ ।

‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६१-०१-२७ को निर्णय तथा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको मिति २०८१-०४-०७ को ९७९ औं बैठकको निर्णयानुसार डेडिकेटेड फिडर तथा ट्रक लाइन मार्फत विद्युत उपभोग गरे बापत तिर्नुपर्ने २०७२ माघदेखि २०७५ वैशाख सम्मको बक्यौता विद्युत महसुल बुझाउनका लागि वितरण केन्द्रहरूबाट विभिन्न मितिमा पत्राचार भएकै छ’ सूचनामा भनिएको छ, ‘सो सम्बन्धमा तपसिलका उपभोक्ताहरूले उल्लिखित अवधिको वक्यौता विद्युत महसुल मिति २०८१ साल कात्तिक ८ गतेभित्र बुझाउनुहुन जानकारी गराइन्छ । तोकिएको समयमा महसुल प्राप्त नभएमा कानून बमोजिम असुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’

मंगलबार मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई मंगलबार १५ बुँदे स्पष्टीकरण सोधेका थिए । केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै प्राधिकरण र सरकारबीच टसल परिरहेको छ । सोही कारण सरकारले घिसिङलाई प्राधिकरणबाट हटाउने तयारी गरेको छ ।

उद्योगीहरूको बक्यौताको विषय संसदको सार्वजनिक लेखा समितिसम्म पुगेको थियो । जसमा खासगरी एमालेका सांसदहरूले घिसिङमाथि प्रश्न उठाउँदै आएका थिए भने माओवादी केन्द्रका सांसदहरूले उनको बचाउ गर्दै प्राधिकरणको बिलअनुसार उद्योगीले बक्यौता तिर्नुपर्ने बताउँदै आएका छन् ।