पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पार्टीमा थपियो नयाँशक्ति

281 पटक पढिएको

सम्पादक: Dhading News

पोखरा,६ कात्तिक,२०८१।नेपाल समाजवादी पार्टी नेसपाले विधान अधिवेशनबाट पार्टीको नाम र झण्डा  परिवर्तन गरेको छ।

पोखरामा आज समापन भएको प्रथम विधान अधिवेशनबाट पार्टीको नाम परिवर्तन गर्नुका साथै महाधिबेशनको मिति तोकेको हो । पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र संक्षिप्तमा नेसपा नयाँ शक्ति भएको छ।नेसपाले आगामी माघ २५,२६ र २७ गते काठमाडौंमा महाधिवेशन गर्ने भएको छ।

अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना, ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था पारित गरेको छ। जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति, १ मधेसी, १ खसाआर्य, १ दलित,) १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष हुनेछन्।

निर्वाचन समिति ३३ सदस्यीय हुनेछन्। सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको छ। पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ। त्यस्तै सबै समितिमा महिलापदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा गरिएको छ।

विधान अधिवेशनमा ७१ जिल्ला र विदेश (६ देश) बाट कूल ५०० प्रतिनिधि उपस्थित भएको नेसपाले जनाएको छ ।

बाबुरामले २०७३ सालमा माओवादी पार्टी परित्याग गरि नयाँ शक्ति पार्टी नेपालको गठन गरेका थिए । नयाँ शक्ति पार्टी जनता समाजवादी पार्टी जसपा संग एकीकरण भएपछि सो पार्टीको नाम र अस्तित्व हराएको थियो । भट्टराई समूह जसपाबाट बाहिरिएपछि नेपाल समाजवादी पार्टी गठन गरिएको थियो ।