मीनबहादुरले एमालेलाई दिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता, आज पेसी

261 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं ८ कात्तिक २०८१ ।   भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङबाट नेकपा एमालेलाई प्राप्त जग्गाविरुद्ध सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएको छ ।

अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतसमेतले दायर गरेको रिट सर्वोच्च प्रशासनले दरपीठ गरेपनि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले त्यो निर्णय बदर गर्दै दर्ता गर्न आदेश दिएको हो ।

सोहीअनुसार दर्ता भएको रिट आजका लागि पहिलो पेसी तोकिएको छ ।

अधिवक्ता बस्नेतले रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाएका छन् । उनले रिटमा भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट पार्टीले जग्गा दान लिने विषय कानूनको मर्मविपरीत भएको जिकिर गरेका छन् ।

भाटभटेनी सुपरस्टोरका सञ्चालक गुरुङले गत असोज २५ गते काठमाडौंको कीर्तिपुर-२, मैत्रीनगरमा नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन १० रोपनी १४ आना जग्गा दिएको घोषणा गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवनको शिलान्यास समेत गरेका थिए ।

उक्त जग्गा दानमा लिए पछि एमाले पार्टी भित्रै दान लिन हुने र नहुने बिषयमा बहस शुरु भएको छ । पार्टीले जग्गा दान लिएको बिषयमा असहमती राखेर अभिव्यक्ति दिएको भन्दै एमालेले नेता भिम रावल, विन्दा पाण्डे र उषा किरण तिमिल्सिना माथि स्पष्टिकरण सोधेको छ ।