धादिङमा शुक्रवार दिउँसो भएको दुईवटा दुर्घटनामा परि १२ जना घाईते

427 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, ९ कात्तिक २०८१ ।धादिङमा शुक्रवार दिउँसो भएको छुट्टाछुट्टै दुईवटा दुर्घटनामा परि १२ जना घाईते भएका छन् । धादिङको थाँक्रे गाउँपालिकामा पर्ने पृथ्वीराजमार्गको नौकिलो भन्ने स्थानमा शुक्रवार दिउँसो  इलेक्ट्रोनिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

काठमाडौंबाट मनकामना केवलकार स्टेशन चितवनको चेरेश जाँदै गरेको बा.प्र.०१-०३० च ७६५९ ईभी शुक्रवार दिउँसो करिब २ बजेतिर धादिङको थाक्रे गाउँपालिका- ६ नौकिलास्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । भ्यानमा मनकामना दर्शनका लागि जाँदै गरेका यात्रु रहेका थिए । दुर्घटनामा ११ जना घाइते भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । भ्यान सडकबाट करिब ४० मिटर तल खसेको हो । दुर्घटनाको विषयमा प्रहरीले थप अनुस्न्धान गरिरहेको बताएको छ ।

यसैगरी धादिङको जोगीमारामा चार वटा सवारीसाधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको जोगिमाराको हुग्दी खोला नजिक चौकिटारमा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको बा ३ ख ५८९१ नम्बरको माइक्रोबसले नेपाली सेनाको ना १ झ १०५० नम्बरको जिप र सोही दिशातर्फ जाँदै गरेको प्रदेश ०२–०३–०० १ ज ०२२९ नम्बरको म्याजिक भ्यानलाई ठक्कर दिएको हो ।

ठक्कर खाएपछि अनियन्त्रित बनेको नेपाली सेनाको जिपले पार्किङ गरी राखेको बा ९४ प ७६७२ नम्बरको मोटर साइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा माक्रोमा सवार १ जनाको टाउको खुट्टामा चोट लागेको छ भने केही सामान्य घाइते भएका छन् । दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।