नारायणगढ–मुग्लिन सडकमा भएको दुर्घटनामा परि पाँच जनाको मृत्यु

159 पटक पढिएको

सम्पादक: Dhading News

चितवन, २३ कार्तिक शुक्रबार,२०८१ । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित सत्रकिलोमा शुक्रबार बिहान ३:०० बजेको समयमा बस र इलेक्ट्रिक हायस एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस एकापसमा ठक्कर खाँदा पाँच जनाको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।

हायसमा सवार गोरखा आरुघाट–१, मान्बु बस्ने ४० वर्षीय राजबहादुर गुरूङ, हायसका चालक, नामथर, वतन नखुलेकी अन्दाजी ४० वर्षकी एक महिला, अन्दाजी ३०–३५ वर्षका दुई पुरुषको मृत्यु भएको हो ।

सो दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये एक जनाको भरतपुर अस्पताल र चार जनाको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

ज्यान गुमाउने र घाइते हुने सबै हायसका यात्रुहरू हुन् । बसमा सवार यात्रुहरुको अवस्था भने सामान्य नै रहेको र चालक भने घाइते भएको प्रहरीले जनाएको छ । बस चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–९ बस्ने ४४ वर्षीय सूर्यविक्रम विष्टलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।