दुबई पठाइदिने भन्दै १९ लाख ठगी गरेको आरोपमा धादिङ गंगाजमुनाका सन्जिव गुरुङ पक्राउ
211 पटक पढिएको
काठमाण्डौं,२४ कात्तिक २०८१। वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग १९ लाख ७० हजार रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार धादिङको गंगाजमुना गाउँपालिका-४ घर भई काठमाडौंको तार्केश्वर नगरपालिका-१० बस्ने ३० वर्षीय सन्जिव गुरुङलाई पक्राउ गरेको हो । उनलाई तार्केश्वर नगरपालिका-१०, मनमैजु हिलेटोलबाट पक्राउ गरिएको महाशाखाका एसपी अंगुर जिसीले बताएका छन् ।
गुरुङले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलब पाउनेगरी वैदेशिक रोजगारीमा दुबई पठाउने भनेर रकम अशुलेका प्रहरीले जनाएको छ।
उनले पीडितहरूलाई लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएका थिए । त्यसपछि तीन जना पीडितले प्रहरीमा जाहेरी दिएका थिए । पीडितको जाहेरीपछि प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंको जिम्मा लगाएको एसपी जिसीले बताए ।