धार्केको धर्मकाटाको डिजिटलाइजेसनको शुभारम्भ
102 पटक पढिएको
धादिङ,५ मङ्सिर २०८१, बुधबार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले मंगलबार संयुक्तरूपमा एक कार्यक्रमबीच धार्केको धर्मकाटाको डिजिटलाइजेसनको शुभारम्भ गरेका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघको व्यवस्थापनमा रहेको यो धर्मकाटाको डिजिटल रूपान्तरणले ओभरलोड नियन्त्रणमा मद्दत पुग्ने महासंघले विश्वास व्यक्त गरेको छ ।
धर्मकाटा डिजिटल बनाउने उद्देश्यसँगै ओभरलोडका कारण सडकमा हुने क्षति रोक्न र यातायात व्यवसायलाई थप व्यवस्थित बनाउन यो कदम चालिएको महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले बताउनुभयो । डिजिटलाइजेसनले धर्मकाटा सञ्चालन पारदर्शी बनाउने र ओभरलोड नियमन प्रभावकारी हुने उहाँको भनाइ थियो ।
देशभरका धर्मकाटा डिजिटल बनाउने तयारी रहेको महासंघले जनाएको छ । महासंघका अनुसार हाल देशभर २१ धर्मकाटा सञ्चालनमा छन् । ती सबै धर्मकाटा क्रमशः डिजिटल बनाउने प्रक्रिया अघि बढाइनेछ । डिजिटलाइजेसनपछि ओभरलोडको डेटा र ट्रकको जानकारी सुरक्षितरूपमा व्यवस्थापन गर्न सकिनेछ । सो अवसरमा मन्त्री दाहालले डिजिटल धर्मकाटाले सरकारको यातायात नीति कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै व्यवसायीलाई समेत जिम्मेवार बनाउने र यात्रु तथा मालसामानको सुरक्षित ढुवानी सुनिश्चित गर्ने बताउनुभयो ।
धर्मकाटाको डिजिटलाइजेसनले सडक संरचनाको दीर्घकालीन संरक्षणमा मद्दत पुर्याउने र ओभरलोडका कारण हुने दुर्घटना तथा सडक बिग्रिने समस्या कम गर्ने अपेक्षा महासंघको छ । महासंघले डिजिटल धर्मकाटाबाट तत्कालै लाभ प्राप्त हुने र अन्य क्षेत्रमा पनि डिजिटल रूपान्तरणलाई प्राथमिकता दिने योजना बनाएको छ ।
दुर्घटना न्यूनीकरणदेखि नियमनकारी निकाय ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र व्यवसायीलाई आफ्नो सवारीसाधनले के कति भार वहन गरेको छ भन्ने विषयमा समेत जानकारी दिने महासचिव बानियाँले जानकारी गराउनुभयो ।