धादिङ ,गुल्मी र उदयपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर तीन जनाको मृत्यु
114 पटक पढिएको
काठमाडौं,१३ पुस २०८१ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। धादिङ, गुल्मी र उदयपुरमा भएका छुट्टाछुट्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको हो।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३ रिचोकटारस्थित सडकमा रोकी राखेको बा.प्र.२/०३-००१ क ००६३ नम्बरको ट्रकमा बा.प्र.०३.०१३ प ७८०१ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय रामकृष्ण कँडेलको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राजमार्ग अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई थप उपचारको लागि केएमसी अस्पताल सिनामंगल रिफर गरिएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गुल्मी, सत्यवती गाउँपालिका-२ पादिस्थित सडकमा रिडिबाट पूर्तिघाटतर्फ जाँदै गरेको लु.१ क ५४०० नम्बरको टिपर शुक्रबार राति दुर्घटना हुँदा चालक पाल्पा रैनादेवी गाउँपालिका-१ बुतुङ्दी बस्ने २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारको क्रममा मृत्यु भएको हो।
उदयपुर, उदयपुरगढी गाउँपालिका-७ अँधेरीस्थित सडकमा काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ५७४९ नम्बरको मिनी ट्रक शनिबार दिउँसो दुर्घटना हुँदा सहचालक सुनसरी इटहरी उपमहानगरपालिका-२ बस्ने २४ वर्षीय सुदिप राईको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ भने ट्रकमा सवार १ जनालाई थप उपचारको लागि बिराटनगरस्थित न्यूरो अस्पताल रिफर गरिएको छ।
दुर्घटनाका सम्बन्धममा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।