चितवनमा त्रिशूली नदीमा खसेर हराईरहेका ब्यक्तिको पहिचान

461 पटक पढिएको

२ फाल्गुन २०८१, शुक्रबार १६:५९ सम्पादक: धादिङ न्यूज

चितवन,२ फागुन । चितवनको मुग्लिन नारायणगढ सडक खण्डमा शुक्रबार बिहान भएको दुर्घटनामा बेपता मोटरसाइकल चालकको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिशूली नदीमा हराईरहेका ब्यक्ती चितवनको भरतपुर नगरपालिका–१ रामपुर बस्ने २७ वर्षीय रोहित राना रहेका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा डिवाईडरमा ठोक्किएर मोटरसाइकल बाट उच्छिट्टिएर त्रिशूली नदीमा  खस्दा उनी हराएका हुन ।

इलाका प्रहरी कार्यालय, मुग्लिनकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरला भण्डारीका अनुसार उनी बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकलमा  काठमाडौंका लागि रामपुरबाट निस्किएका थिए ।

अहिले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरको टोलीले त्रिशूलीमा उनको खोजी गरिरहेको छ ।

बिहान लगभग ११ बजेर ५० मिनेटको समयमा मोटरसाइकल सडक छेवैको डिभाइडरमा ठोक्किएको थियो । मोटरसाइकल भने सडकमै छ ।

लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ रामपुर बस्ने उनी भारतीय सेनामा कार्यरत थिए ।

घटनास्थलमा उनले बोकेको पर्स, केही कागजात, लुगा, जुत्ता भेटिएको थियो ।