तरकारीले बजार र मूल्य नपाउँदा फाल्न बाध्य धादिङका किसान

117 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १६ चैत २०८१ । बजार मूल्य नपाएपछि व्यवसायिक रुपमा तरकारी खेती गर्र्दै आएका धादिङका किसान मर्कामा परेका छन्। किसानले मूल्य पाउन नसकेपछि बन्दा काटेर फाल्न बाध्य भएका छन् । प्रति किलो पाँच रूपैयाँमा पनि बिक्री नभएपछि धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ का  किसानले बाध्य भएर बन्दा काटेर फालेका हुन् ।

स्थानीय किसान हरिशरण धितालका अनुसार यो बर्ष प्रति किलो ५ रुपैयामा पनि बन्दा बेच्न नसकिएपछि खेतमा रहेको बन्दा काटेर फाल्नु परेको हो । सात रोपनी जमिनमा आफ्नो मेहनत, ज्याला बाहेक ६० हजार खर्च गरेर लगाएको बन्दा बिक्री गर्दा ७ हजार रुपैयाँ पनि कमाई नभएको  सोही जमिनमा लगाएको बन्दा बिक्री गरेर अघिल्लो बर्ष २ लाख २५ हजार कमाई गरेको बताए ।

‘खेती गर्ने बेला न समयमा मल पायौं न बीउ नै, हजारौं खर्च लाग्यो,’ धिताल भने, ‘बारीमा लगाएका बन्दाको बजार भाउ नपाउँदा  नष्ट गर्नुपरेको छ।’खेती लगाउने बेला चर्को मूल्यमा बीउ, मलको जोहो गर्नुपर्‍यो तर प्रतिफल सून्य भएको धादिङका किसानको गुनासो छ ।

धिताल मात्रै होइन यस भेगका अधिकांश किसानले खेतमा लगाएको तरकारी मासेर चैते धान रोप्ने तयारी गरिरहेका छन् ।

बन्दा मात्र होइन, यतिखेर गजुरीका किसानले लगाएको अन्य तरकारीको पनि बजार छैन। अघिल्लो वर्ष किसानले धेरै काउली र बन्दा लगाए पनि बिक्री भएको थियो। राम्रो आम्दानी गरौंला भनेर बन्दा र काउली लगाए पनि यसपटक फाल्नुपरेको किसानहरुको गुनासो छ ।

बजारमा काउली, बन्दा र फर्सी धेरै भित्रिएपछि किसानले मूल्य नपाएका हुन्। तर उपभोक्ता भने चर्को मूल्यमा तरकारी उपभोग गर्न बाध्य छन्।

हरेक बर्ष नेपाली किसानले उत्पादन गरेका काउली, बन्दा, गोलभेँडा लगायतका तरकारीले बजार र मूल्य नपाउँदा उत्पादक निरास हुने गरेका छन् ।

तरकारी उत्पादनमा लाखौँ लगानी गरेर उत्पादन गरेका तरकारीले भाउ नपाउँदा तरकारी उत्पादक किसान मारमा परेका हुन् । केही दिनयता किसानले बन्दाको मूल्य नपाएपछि काटेर फ्यााक्न थालेका हुन । प्रतिकेजी  ५ रुपैयाँमा पनि बिक्न छोडेको किसानको भनाइ छ ।

भारत बाट खुलेआम रूपमा ठुलो परिणाममा तरकारी भित्रिँदा नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार नपाएर बारीमा पुर्नुपर्ने अवस्था आएको किसानको बताउँछन् । भारतको तरकारीको लागत कम हुने र स्थानीय तरकारीको लागत बढी हुँदा भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली कृषक मर्कामा परेका हुन् ।

देशकै ठुला तरकारी बजारमा भित्रिएको तरकारी मध्ये ४५ प्रतिशत बजार मागको हिस्सा भारतीय तरकारीले ओगटेको छ । नेपालमा उत्पादन भएको तरकारीको हिस्सा ५५ प्रतिशत छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *