आज साउने संक्रान्ति र यस्को धार्मिक महत्व घर घरमा लूतो फालिंदै
313 पटक पढिएको
काठमाण्डौं – विक्रम सम्वतको पात्रो अनुसार सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिनलाई श्रावण (साउने) संक्रान्ति भनिन्छ । यसलाई कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो ।
वर्षभरका दिनहरु मध्य आज साउने संक्रान्ति १ गते सबै भन्दा लामो दिनको हुन्छ । बेलुका लुतोफाली धार्मिक महत्वको साथ संक्रान्ति मनाइन्छ । सूर्य मिथुन राशीबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई कर्कट संक्रान्तिका रुपमा मनाइन्छ ।
साउन सङक्रान्तिले धान रोपाइँको समाप्तिलाई जनाउँछ । साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको धार्मिक महत्व रहेको छ । स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरूवात यहि दिनदेखि गरिन्छ । हिन्दु धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दु धर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ । यसैगरी याकथुङ लिम्बू समुदायमा सिसेक्पा तङ्नामको नामले यो संक्रान्ति मनाइन्छ । कतिपयले आफ्नो ईष्टदेवको सम्मानमा साउने संक्रन्तिको दिन नयाँं पाकेका फलफुलहरू चढाउन डोरिमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ । ठाउँ र जाति विशेषले आआफ्नै परम्परा अनुसार साउने संक्रान्ति मनाउने चलन छ ।
आजका दिन कन्डारक नाम गरेको रात्रिचर राति हिँड्नेको पूजा गरी बलेको अगुल्टो फालेपछि वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको छ । सामान्यतया सूर्यले सबै राशीलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यो दिनदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणि गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ ।
साउने संक्रान्तिदेखि चाडलाई प्रकृतिको पूजा, पूर्खाको सम्झना सम्मान तथा विगत र वर्तमानको समीक्षा गर्ने र भविष्यको योजना बनाउने पर्वको रूपमा पनि मान्ने गरिन्छ । साउन लागे लगत्तै हिन्दू महिलाहरुमा छुट्टै उत्साह र उमंग छाएको छ । रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुको मन्दिर र बाटोघाटोमा चहल रपहल देखिन्छ । पछिल्ला वर्षहरुमा साना बालिका र किशोरीहरु समेत मेहन्दी र रातो वस्त्र लगाएर साउने व्रत बस्ने गरेका छन् । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेशनका रुपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएकाले साउनका सबै दिनलाई उत्तिकै महत्वको रुपमा लिइन्छ ।
साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ । पौराणिक मान्यताअनुसार साउन महिना देवताहरुका पनि देवता महादेव शंकर अर्थात् शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरी निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाहरुले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् ।








Start profiting from your network—sign up today! https://shorturl.fm/YJknX