अनेरास्ववियु धादिङमा भाँडभैलो, अलग अलग समूहबाट आआफ्नै जिल्ला संयोजक

819 पटक पढिएको

१० श्रावण २०८२, शनिबार १६:३४ सम्पादक: धादिङ न्यूज

धादिङ,१० साउन । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु धादिङको संयोजकको जिम्मेवारी दुई जनाले पाएपछि आधिकारिताको बिबाद संगै संगठन भित्र अन्यौल शुरु भएको छ ।  संगठन भित्र बढ्दै गएको चरम विवादले  दुई वटा समूहले फरक फरक व्यक्तिलाई संयोजक तोकपछि अखिल भित्रको विवाद सतहमा छरपष्ट हुन पुगेको हो ।

अनेरास्ववियु धादिङको २४ औं जिल्ला अधिबेशनबाट अध्यक्ष पदमा निर्वाचित श्याम लामा १४ औं राष्ट्रिय महाधिबेशनबाट केन्द्रिय सदस्यमा चयन भएपछि विधान अनुसार रिक्त हुन आएको अध्यक्ष पदमा लामाले साउन ४ गते उपाध्यक्ष सविन नेपाललाई संयोजकको जिम्मेवारी दिएको पत्र सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए ।

निर्वाचित जिल्ला कमिटीका अध्यक्ष, सचिव लगायत चार जना केन्द्रिय कमिटीमा चयन भएपछि रिक्त हुन आएको अध्यक्ष पदमा संगठनको विधान धारा ३१ (ड) बमोजिम उपाध्यक्षलाई संयोजकको जिम्मेवारी दिएको पूर्व अध्यक्ष लामाले सार्वजनिक गरेको पत्रमा उल्लेख छ । लामा संगठनको २४ औं जिल्ला अधिबेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए । लामा नेत्तृत्वको सचिव रेशम श्रेष्ठ पनि २४ औं राष्ट्रिय महाधिबेशनबाट केन्द्रिय समितिमा चयन भएपछि तल्लो कमिटीमा उहाँहरुको पद रिक्त हुनपुगेको थियो ।

लामाले जिल्ला कमिटीको बैठक समेत नराखी एकपक्षिय ढंगबाट संयोजक तोकेको भन्दै जिल्ला कमिटीका ३४ जना मध्ये १९ जनाको उपस्थितीमा साउन ७ गते बसेको बैठकले संगठनको विधानको धारा ३१ (ण) बमोजिम निर्णय गरी जिल्ला कमिटीका कोषाध्यक्ष सदिक मियालाई संयोजकको जिम्मेवारी दिइएको अखिल जिल्ला कमिटीका सह सचिव अन्दाज श्रेष्ठले वताएका छन् ।

जिल्ला कमिटीको निर्णय अनुसार सदिक मियाँलाई संयोजकको जिम्मेवारी दिईएको व्यहोराको सहसचिव अन्दाज श्रेष्ठले हस्ताक्षर गरेका छन् । एक साता भित्र एउटै संगठनमा दुई जनालाई संयोजक तोकेपछि आधिकारिताको बिबाद शुरु भएको छ । दुवै पक्षले संयोजक तोकेको जानकारी प्रदेश र केन्द्रिय समितिलाई पठाएको र केन्द्रबाट आफ्नो नाममा आधिकारिता आउने उनिहरुको विश्वास छ ।

यसै बिच डिन्यूज नेपालले नेकपा एमाले धादिङका विद्यार्थी इन्चार्ज हरि थापा संग सोधेको थियो धादिङमा अखिलमा २ जनालाई संयोजक तोकिएको रहेछ पार्टीको तर्फबाट कस्लाई आधिकारिक मान्नुहुन्छ भन्ने प्रश्नमा थापाले भन्नुभयो ‘पार्टीले कसैलाई जिम्मेवारी दिने र पद तोक्ने काम गर्दैन संगठनको विधान र विधि अनुसार केन्द्रिय समितिले कस्लाई आधिकारिता दिन्छ उसैले जिम्मेवारी पाउनेछ ।’

अखिलको निर्वाचित ३९ सदस्यिय जिल्ला कमिटीबाट अध्यक्ष सहित चार जना केन्द्रिय समितिमा निर्वाचित भएको र उपाध्यक्ष एक जनाले पद स्विकारनै नगरेकाले जिल्ला कमिटीको १९ जनाको हस्ताक्षर गरेर केन्द्रलाई रिक्त हुन आएको संयोजक पदमा जिम्मेवारी दिएको जानकारी पठाईएको र आंफुले संयोजकको जिम्मेवारी पाउनेमा ढुक्क रहेको सदिक मियाँले वताउनु भयो ।

दुई सह सचिव, कोषाध्यक्ष र दुई सदस्यको सदस्यता खारेजको सिफारिस

संगठन भित्र विवाद बढ्दै जाँदा सविन नेपाल समूहबाट समानान्तर जिल्ला कमिटी गठन गरी गतिविधि संचालन गरेको भन्दै दुई सह सचिव, कोषाध्यक्ष र दुई सदस्यको सदस्यता खारेजको सिफारिस समेत भएको छ । श्याम लामाले संयोजकको जिम्मेवारी दिएका उपाध्यक्ष नेपालले साउन ९ गते जिल्ला कमिटीका सह सचिव अन्दाज श्रेष्ठ, उज्वल केसी, काोषध्यक्ष सादिक मिया, जिल्ला सदस्य विवश सेढाई र आस्तिका सिलवाललाई समानान्तर जिल्ला कमिटी गठन गरी गतिविधि गरेको भन्दै अखिलको साधारण सदस्यता बाट हटाईएको पत्र सार्वजनिक गरेका छन् ।

नेपाललाई संयोजक तोकेकोमा असन्तुष्ठि राख्ने पक्षको बैठकले कोषाध्यक्ष सदिक मियाँलाई संयोजक तोकेको निर्णय गरेपछि नेपालले सो निर्णय प्रकृयामा सहभागी पदाधिकारी र सदस्यलाई संगठनबाट हटाएको घोषणा गरेका छन् ।

नेपालले आंफुलाई संयोजकको हैसियतमा जिल्ला अधिबेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुलाई कारवाही गर्ने हैसियत राख्न नसक्ने र यो कारवाहीको कुनै अर्थ नरहेको सदिक मियाको भनाई छ ।

समानान्तर कमिटी गठन संगै एक पक्षले अर्को पक्षलाई कारवाही गरेको घोषणा गरेका छन् ।

श्याम लामाले संयोजकको जिम्मेवारी दिएका उपाध्यक्ष नेपालले साउन ९ गते जिल्ला कमिटीका सह सचिव अन्दाज श्रेष्ठ, उज्वल केसी, कोषाध्यक्ष सादिक मिया, जिल्ला सदस्य विवश सेढाई र आस्तिका सिलवाललाई समानान्तर जिल्ला कमिटी गठन गरी गतिविधि गरेको भन्दै अखिलको साधारण सदस्यता बाट हटाईएको पत्र सार्वजनिक गरेको केही बेरमा अर्को पक्षबाट संयोजक वनाईएका सादिक मियाले निवर्तमान अध्यक्ष श्याम लामाले संयोजक वनाएका संयोजक सविन नेपाललाई संगठनको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको पत्र सार्वजनिक गरेका छन् ।