धादिङ गल्छीका सुनिलले लेखाए गिनिज वर्ल्ड रेकर्डमा नाम नेपाली क्यालिस्थेनिक्स एथ्लेट सुनिल खड्काले एक मिनेटमा ३२ क्ल्याप पुलअप गर्दै १० वर्ष पुरानो गिनिज वर्ल्ड रेकर्ड तोडेका छन्।

472 पटक पढिएको

१७ श्रावण २०८२, शनिबार २१:१७ सम्पादक: धादिङ न्यूज

नेपाली क्यालिस्थेनिक्स एथ्लेट सुनिल खड्काले एक मिनेटमा ३२ क्ल्याप पुलअप गर्दै गिनिज वर्ल्ड रेकर्ड तोडेका छन्। उनले यसअघि अमेरिकाका ब्लेक अगस्टिनले सन् २०१५ मा बनाएको ३० क्ल्याप पुलअपको रेकर्ड तोडेका हुन्।

धादिङको गल्छी निवासी २५ वर्षीय सुनिलले गत असार ७ गते (२१ जुन) ललितपुरस्थित बज्र ननिता फिटनेस सेन्टरमा आधिकारिक प्रयास गरेका थिए। गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले हालै उक्त रेकर्ड प्रमाणीकरण गर्दै आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित गरेको छ ।

कार्यक्रममा नेपाल युथ फिटनेस एण्ड क्यालिस्थेनिक्सका संस्थापक तथा अन्तर्राष्ट्रिय सर्टिफाइड स्ट्रेन्थ एन्ड कन्डिसनिङ स्पेशलिस्ट सुकदेव कार्की प्रमुख निर्णायकको रूपमा उपस्थित थिए । सुनिल खड्काले यो सफलता सामान्य अभ्यासबाट होइन, ५ वर्ष लामो निरन्तर अनुशासन र परिश्रमबाट हासिल गरेका हुन्।

सन् २०२० मा उनले क्यालिस्थेनिक्स सुरु गर्दा सुरुआतमा तीन वटा पनि पुलअप गर्न नसक्ने अवस्था थियो। तर हाल उनले एक मिनेटमै ३२ क्ल्याप पुलअप गरी विश्वमा आफ्नो नाम दर्ज गराए।

सुनिलले हालै पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट एयरोस्पेस इन्जिनियरिङमा स्नातक सकेका छन्। उनी प्रमाणित पर्सनल ट्रेनर पनि हुन् र फिटनेस मार्गदर्शन गर्दै आएका छन्।

सुनिलले सन् २०२४ मा मुम्बईमा आयोजित एशियन क्यालिस्थेनिक्स च्याम्पियनसिपमा एक स्वर्ण र एक रजत पदक पनि जितेका थिए। उनले यसअघि पनि अन्तर्राष्ट्रिय क्यालिस्थेनिक्स प्रतिस्पर्धाहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका छन्।