गजुरी गाउँपालिका अध्यक्षको विवादित कदम, कानुनविपरित वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी
1492 पटक पढिएको
धादिङ । चीन भ्रमणमा निस्किएका धादिङको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा नम्बर १ का वडाध्यक्ष तारानाथ भण्डारीलाई दिएका छन् ।
अध्यक्ष श्रेष्ठले उपाध्यक्ष शर्मिला विसुराललाई कुनै जानकारी समेत नदिई वडा अध्यक्ष भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षलाई कार्यवाहक अधिकार दिनुपर्ने कानुनी व्यवस्थालाई वेवास्ता गर्दै वडाअध्यक्षलाई कार्यवाहक दिएपछि गाउँपालिका अध्यक्ष श्रेष्ठको सो कार्य विवादमा आएको छ ।
अध्यक्ष अनुपस्थित हुँदा उपाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिनुपर्ने स्थानीय सरकार सञ्चालन ऐनमा स्पष्ट उल्लेख छ । श्रेष्ठ चिन र नेपालको कुटनितिक सम्वन्ध स्थापना भएको ७० बर्ष पुगेको अवसरमा चिन सरकारको निमन्त्रणमा चीनको शिङहाई प्रान्तको युशु प्रिफेक्चर सिटीमा आयोजना गरिएको कार्यक्रममा भाग लिन साउन १४ गते देखि चीन भ्रमणमा गएका छन् ।
साउन १३ गते चलानी नम्बर १३७ रहेको गाउँपालिकाको पत्र मार्फत अध्यक्ष आंफु साउन १४ गते देखि चिन भ्रमण जान लागेको र फर्किएर नआउँदा सम्मको लागि भनेर १ नम्बर वडा अध्यक्ष भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको पत्रमा उल्लेख गरेका छन् ।
अध्यक्षले वडा अध्यक्ष भण्डारीलाई कार्यवाहक तोकेको पत्रमा कार्यविभाजन नियमावली २०७४ को नियम ४ को उपनियम ४ बमोजिम कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएको लेखिएको छ ।
गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेस संग गठवन्धन गरी अध्यक्षमा नेकपा माओवादी केन्द्रका श्रेष्ठ र उपाध्यक्षमा नेपाली काँग्रेसको शर्मिला विसुराल निर्वाचित भएका थिए । कार्यवाहक दिइएका तारानाथ माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन्।
अध्यक्ष देश वाहिर जानुपर्दा कार्यालयलाई जानकारी गराएर नियमानुसार कार्यवाहक दिनुपर्नेमा मनोमानी ढंगबाट कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जानकारी सामाजिक सञ्जालबाट आंफुले थाहा पाएको उपाध्यक्ष विसुरालले वताउनु भयो ।गजुरी गाउँपालिकामा रमिता भएको यो नै पहिलो पटक भने नभएको र अध्यक्षले पटक पटक नियममिचेर गैर जिम्मेवारीपन देखाउँदै आएको उपाध्यक्ष विसुरालको भनाई छ ।
अदालतले यस अघि नै वडा अध्यक्षलाई कार्यवाहक दिएका विभिन्न पालिकाका प्रमुखको विरुद्व दायर भएका रिटमा वडा अध्यक्षलाई कार्यवाहक दिन रोक लगाए एको भएपनि गजुरीका अध्यक्षले ऐन कानून, नियम सबै मिचेको स्थानीय उपाध्यक्ष विसुरालले वताउनु भयो ।
झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उपाध्यक्ष हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेकोमा २०८० भदौ ५ गते उच्च अदालत विरानगरले अध्यक्षको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
उच्च अदालत विराटनगरले वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिने धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)को निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
न्यायाधीश ध्रुवराज नन्दको इजलासले प्रमुख साम्पाङको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो । वैदेशिक भ्रमणमा जानुअघि प्रमुख साम्पाङले वडा नम्बर ११ का अध्यक्ष फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।
उपाध्यक्ष हुँदाहुँदै आफ्नो स्वार्थअनुकूल वडाध्यक्षलाई कार्यवाहक दिने मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीको निर्णयलाई उच्च अदालत विराटनगरले अन्तरिम आदेशमार्फत रोकेको थियो ।
देशका अन्य स्थानीय तहहरुमा यस्तै प्रकारको विवाद हुँदा वडाअध्यक्षलाई कार्यावाहक अध्यक्षको जिम्मेवारी दिने अदालतबाट खारेज भएका छन् ।








https://shorturl.fm/Yg5C1
https://shorturl.fm/jHmYj