समाचारको बिषयमा पत्रकारमाथि सिद्धलेक गाउँपालिका अध्यक्षको व्यवहारको सर्वत्र विरोध

564 पटक पढिएको

१० भाद्र २०८२, मंगलवार ०८:१६ सम्पादक: धादिङ न्यूज

धादिङ- प्रकाशित समाचारको विषयलाई लिएर धादिङ जिल्ला स्थित सिद्धलेक गाउँकालिकाका अध्यक्ष परशुराम खतिवडाले समाचार प्रकाशन प्रसारण गर्ने संचारमाध्यमका पत्रकारलाई गरेको व्यवहारको नेपाल पत्रकार महासंघ,प्रेस चौतारी नेपाल लगायतका पत्रकार संघ संगठनले आपत्ति जनाएका छन् ।

भदौ ४ गते धादिङन्यूज डटकम र वागमती कलम डटकममा सो गाउँपालिकाको शिक्षक सरुवा, बिद्यालय समायोजन संग सम्बन्धी समाचार प्रकाशन प्रसारण भएको थियो । गाउँपालिकाको शिक्षा समितिले निर्णय गरेर पालिकाको वेभसाईटमा राखिएको सूचनाका आधारमा शिक्षक सरुवा तथा बिद्यालय समायोजन र बिषयगत शिक्षक सरुवा हुंदा पठन पाठनमा परेको बिषयमा लेखिएको समाचार प्रति असहमती जनाउँदै अध्यक्ष खतिवडाले पत्रकारलाई अपमानजनक व्यवहार गरेकोमा सो कार्यको अहिले सर्बत्र विरोध भएको हो ।

सिद्धलेक ७ को जाल्पादेवी आविमा बिषयगत शिक्षक दरवन्दी सहित सरुवा भएपछि सो बिद्यालयको पठन पाठन प्रभावित भएको भन्दै स्थानीयले बिद्यालयमा तालावन्दी गरेको भिडियो र फोटो सामाजिक सञ्जालमा छरपष्ट भएको थियो ।

सोही भिडियो र फोटो लाई आधार मानेर समाचार प्रकाशन प्रशारण भएपछि अध्यक्ष खतिवडाले धादिङ न्यूज डट कमका प्रधान सम्पादक केशव अधिकारीलाई आफ्नै कार्यकक्षमा वोलाएर अपमानजनक व्यवहार गरेको र वागमती कलम डट कमका सम्पादक अनिल अछामीलाई फोन मार्फत धम्की दिएका थिए ।

गाँउपालिकाका अध्यक्षको व्यवहार गलत भएको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रिय समिति,नेपाल पत्रकार महासंघ धादिङ शाखा र प्रेस चौतारी नेपाल धादिङ जिल्ला समिति,समाजवादी प्रेस संगठन जिल्ला समिति धादिङ लगायतका पत्रकार संगठनहरुले प्रेस विज्ञप्ति मार्फत ‘धादिङ न्यूज डटकम र बागमती कलम डटकममा प्रकाशित शिक्षक सरुवा, बिद्यालय समायोजनका बिषयमा लेखेको समाचारका बिषयलाई लिएर पत्रकारलाई स्पष्टिकरण लिने धम्क्याउने कामको पत्रकार सम्वद्ध संगठनहरुले आपत्ति जनाएका हुन ।

प्रकाशित समाचारको विषयमा चित्त नबुझे वा गुनासो रहे त्यसको न्यायिक निरुण गर्ने प्रक्रियागत तथा कानुनी उपचार हुँदाहुँदै अध्यक्ष तामाङको व्यवहारले प्रेस स्वतन्त्रता, विधिको शासन तथा कानुनी राजमाथि नाङ्गो हस्तक्षेप हुने र समाचार लेखेकै आधारमा पत्रकारमाथि गाली वेइज्जती र अपमानजनक व्यवहार गर्र्नु गलत भएको पत्रकार संगठनहरुले बिज्ञप्ति मार्फत जनाएका छन् । स्वतन्त्र पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, कानुनी राज र विधिको शासन स्थापित गर्न तथा पत्रकारको भौतिक सुरक्षाप्रति संवेदनशील रहन पत्रकार संगठनहरुले अनुरोध गरेका छन् ।

पत्रकार केशव अधिकारी नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि परिषद सदस्य , प्रेस चौतारी धादिङको पूर्व अध्यक्ष, केन्द्रिय महाधिबेशन प्रतिनिधि हुन भने अनिल नेपाली नेपाल पत्रकार महासंघ धादिङका सदस्य, प्रेस चौतारी धादिङका सचिव समेत हुन् ।

सम्वन्धित समाचार पढ्नुहोस

सिद्धलेकका ९ वटा विद्यालय बन्द गरिने