दरवन्दी पाउने भएपछि जाल्पादेवी आविले लेख्यो बिद्यालय सुचारु छ

505 पटक पढिएको

१० भाद्र २०८२, मंगलवार १६:१५ सम्पादक: धादिङ न्यूज

धादिङ- सरुवा भएर गएका बिषयगत शिक्षकको ठाउँमा नयाँ शिक्षक नियुक्ति गर्न गाउँपालिकाले वजेट सहितको स्विकृत दिएपछि सिद्धलेक गाउँपालिकाको वडा नम्बर ७ मा रहेको जाल्पादेवी आविबाट सरुवा भएका शिक्षक सम्वन्धित बिद्यालय जाने बाटो खुलेको छ ।

बिषयगत शिक्षक सरुवाको विरोधमा स्थानीय अभिभावकले भदौ १ गते विहान बिद्यालय खोल्न नदिएर अवरोध गरेका थिए । स्थानीयको अवरोध पछि पठनपाठन रोकिन पुगेको थियो । बिद्यालयमा तालावन्दी गरिएको बारेमा स्थानीय अभिभावक रामशरण आलेले भदौ १ गते आईतबार विहान ८.२५ वजे आफ्नो फेसबुक वालमा भिडियो पोष्ट गरेका थिए ।

बिद्यालय वन्द भएपछि समस्या समाधानका लागि सोही दिन सिद्धलेक–७ का वडा अध्यक्ष सानो गिरीले बिद्यालयका शिक्षक र अभिभावकसंग छलफल गरी हटाईएको दरवन्दीको ठाउँमा तत्काल स्थायी समाधानको उपाय खोज्ने सहमती भएपनि एक साता सम्म कुनै निकास आउन सकेको थिएन ।

गाउँपालिकाको शिक्षा समितिको निर्णय अनुसार साउन २९ गते जाल्पादेवी आविका प्रा.शि स्थायी शिक्षक सुमिना श्रेष्ठ लाई महाकाली माविमा र निमाशि राहत दरवन्दीको शिक्षक कविता रिजाललाई दरवन्दी सहित बच्छलादेवी माविमा सरुवा गरिएको थियो । सरुवा गरिएको मध्ये कविता अँग्रेजी बिषयको शिक्षक भएकाले दरवन्दी सहित सरुवा गरिदिंदा बिद्यालयमा पठन पाठनमा समस्या आउने भन्दै स्थानीयले विरोध जनाएपछि बिद्यालय प्रशासनले सरुवा हुनेलाई रमानापत्र रोकेको थियो ।

दरवन्दी सहितको शिक्षक सरुवा भएपछि कक्षा ८ सम्मको अँग्रेजी बिषयको पढाई रोकिने भन्दै तत्काल बैकल्पिक शिक्षकको व्यवस्था गरिनुपर्ने माग स्थानीय अभिभावकहरुको थियो । शिक्षा समितिको निर्णयले बिद्यालयमा दिर्घकालिन असर पार्ने भन्दै आक्रोशित स्थानीयले बिद्यालय वन्द गरिदिएपछि सिद्धलेक–७ का वडा अध्यक्ष सानो गिरीले अभिभावकलाई भेटेर तत्काल समस्या समाधानको लागि पहल गर्ने आश्वासन दिएपछि बिद्यालयको पठन पाठन नियमित गरिएको थियो ।

बिषय शिक्षक दरवन्दी सहित सरुवा गरिएपछि जाल्पादेवीका अभिभावकले बिद्यालयमा तालावन्दी गरेको बिषयमा सञ्चार माध्यमले समाचार वनाएका थिए । विद्यालयको नामै किटेर वन्द भएको समाचार प्रकाशन प्रसारण हुँदा आफ्नो वदनाम गराउन खोजेको भन्दै गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले भदौ ४ गते सञ्चारकर्मीलाई कार्यकक्षमा वोलाएर अपमानजक व्यवहार गरेका थिए । सोही बिषयमा पत्रकार संघ संगठनले आपत्ति जनाउँदै भदौ ९ गते प्रेस बिज्ञप्ति जारी गरेपछि गाउँपालिका अध्यक्षको दवावमा जाल्पादेवी आविले भदौ ९ गते एउटा सूचना जारी गर्दै विद्यालय वन्द नरहेको व्यहोराको पत्र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको छ ।

सरुवापछि रिक्त हुन आएको दरवन्दीको ठाउँमा गाउँपालिकाको श्रोतबाट पारिश्रमिक उपलव्ध गराउने गरी नयाँ दरवन्दीको पत्र बिद्यालयले पाएपछि विद्यालय वन्द नरहेको व्यहोराको पत्र तयार पारिएको हो । बिषयगत शिक्षकको अभाव हुने भएपछि जाल्पादेवीवाट सरुवा भएका सुमिना श्रेष्ठ र कविता रिजाल आईतबार सरुवा भएको बिद्यालय तर्फ गएका छन भने अन्य सरुवा भएर आएका शिक्षक पनि जाल्पादेवीमा हाजिर भएका छन् । अन्य विद्यालयबाट जाल्पादेवी सरुवा हुनेमा महाकाली माविबाट प्राशि राहत दरवन्दीका भीम वहादुर आलेमगर,कालिका आवी चामडाँडाबाट सन्तलाल श्रेष्ठ र कालिका आवि अमिलिछापबाट स.का. सरस्वती पन्त रहेका छन् ।
बिद्यालयले बिषयगत शिक्षक राख्न अनुमति पाएकाले अव तुरुन्तै सूचना प्रकाशित गरि बिज्ञापन सार्वजनिक गरिने जाल्पादेवी आविका प्रधानाध्यापक हरिचन्द्र शर्माले वताउनु भयो ।