सुडानमा भीषण भूस्खलन, एक हजारभन्दा बढीको मृत्यु

329 पटक पढिएको

१७ भाद्र २०८२, मंगलवार १३:१६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । सुडानको विद्रोही संगठन सुडान मुक्ति सेनाले देशको पश्चिमी भागमा गएको भीषण भूस्खलनका कारण कम्तिमा एक हजार मानिसको मृत्यु भएको दाबी गरेको छ ।

यो भूस्खलन अगस्ट ३१ मा लगातार धेरै दिनसम्म परेको भारी वर्षापछि पश्चिमी सुडानको मारा पर्वत क्षेत्रमा भएको हो । संगठनका अनुसार तारासिन गाउँको ठूलो भाग पहिरोमा पुरिँदा सम्पूर्ण गाउँ नष्ट भएको छ भने एक जना मात्र जीवित भेटिएका छन् ।

सुडान मुक्ति सेनाले संयुक्त राष्ट्रसंघ, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई तत्काल मानवीय सहयोग गर्न अपिल गरेको छ ।

उक्त क्षेत्र हाल विद्रोही सुडान मुक्ति आन्दोलन/सेनाको नियन्त्रणमा छ । संगठन अहिले सुडान सेनासँगै अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स विरुद्ध लडिरहेको छ ।

गृहयुद्धका कारण धेरै मानिसहरू मारा पर्वत क्षेत्रमा शरण लिइरहेका छन् । अप्रिल २०२३ मा सुरु भएको सुडानको सेना र आरएसएफबीचको युद्धले देशलाई गम्भीर मानवीय संकटतर्फ धकेलेको छ । पश्चिमी डार्फर क्षेत्रमा नरसंहारको आरोपसमेत लागेको छ ।

सुडानको गृहयुद्धले अहिलेसम्म कति मानिसको ज्यान लिएको हो भन्नेमा फरक–फरक अनुमान छन् । तर, एक अमेरिकी अधिकारीका अनुसार २०२३ देखि हालसम्म करिब १ लाख ५० हजार मानिस मारिएका छन् भने झण्डै १ करोड २० लाख मानिस विस्थापित भएका छन् ।