गजुरी गाउँपालिकामा बजेट किताब बारे बहुमत जनप्रतिनिधीको आपत्ति, पुनर्लेखनको माग
1031 पटक पढिएको
धादिङ । गजुरी गाउँपालिकाको बजेट किताबमा गाउँसभा बैठकले पारित नगरेका शीर्षक र योजना समावेश गरिएको भन्दै जनप्रतिनिधिहरूले आपत्ति जनाएका छन्। मंगलबार गाउँपालिकामा उपाध्यक्ष शर्मिला विसुराल सहित वडा अध्यक्ष र सदस्यहरूले संयुक्त रूपमा गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठलाई मागपत्र बुझाएका हुन्।
मिति २०८२ असार १० गते सम्पन्न गाउँसभाबाट पारित ६७ करोड २२ लाख ९२ हजार रुपैयाँको बजेटलाई तोडमोड गरी ३ करोड ७ लाख थप गरेर गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बजेट किताबमा प्रकाशित गरिएको भन्दै जनप्रतिनिधिहरूले आपत्ति जनाएका हुन्। उनीहरूले सो कदम कानुनी आधारमै अमान्य हुने ठहर गर्दै तत्काल सच्याउन माग गरेका छन्।
मागपत्रमा गाउँपालिकाले गाउँसभा बैठकमा पारित नीति, कार्यक्रम र बजेटअनुसार मात्र किताब प्रकाशित गर्नुपर्ने उल्लेख छ। त्यस्तो नभएमा विरोध र आन्दोलन गर्नुपर्ने अवस्था आउने चेतावनी समेत दिइएको छ।
मागपत्रमा उपाध्यक्ष शर्मिला बिसुराल, वडा अध्यक्षहरू द्रोण कँडेल ,ऋषिलाल श्रेष्ठ र सुरेन्द्र प्रजा, कार्यपालिका सदस्यहरू आयुष प्रजा, गंगा श्रेष्ठ, मैया डल्लाकोटी , फूल माया तामाङ तथा गाउँसभा सदस्यहरू तारा लामा , सुधिर खरेल र लक्ष्मी नेपालीले लगायत गाउँसभाका बहुमत सदस्यहरुले हस्ताक्षर गरेका छन्।











https://shorturl.fm/SCdn9