धादिङमा वार्षिक प्रगति समीक्षा कार्यक्रम सुरु

222 पटक पढिएको

१७ भाद्र २०८२, मंगलवार २२:४० सम्पादक: धादिङ न्यूज

धादिङ । जिल्ला समन्वय समितिको आयोजनामा धादिङका १३ पालिका, संघीय तथा प्रादेशिक कार्यालयहरूको वार्षिक प्रगति समीक्षा कार्यक्रम धादिङबेशीमा मंगलबारदेखि सुरु भएको छ।

आर्थिक वर्ष २०८१/८२ मा भएका गतिविधिको मूल्यांकन गर्दै आगामी वर्षका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन, अनुभव आदान–प्रदान गर्न तथा सिकाइ व्यवस्थापन गर्ने उद्देश्यले कार्यक्रम थालिएको हो।

मंगलबारको सत्रमा नीलकण्ठ नगरपालिका, धुनिवेशी नगरपालिका, गंगाजमुना गाउँपालिका, नेत्रावति डबजोङ गाउँपालिका, गल्छी गाउँपालिका, थाक्रे गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाले प्रगतिबारे प्रस्तुतिकरण गरे।

यस्तै, नागढुंङ्गा सडक आयोजना पूर्वी खण्ड, सघन शहरी तथा भवन निर्माण कार्यालय धादिङ, पूर्वाधार विकास आयोजना, नयाँ शहर आयोजना कार्यालय गल्छी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, डिभिजन वन कार्यालय धादिङ, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय धादिङ, कृषि विकास कार्यालय धादिङ र पशु सेवा कार्यालय धादिङले समेत आफ्नो कामको प्रगति प्रस्तुत गरेका छन्। बाँकी रहेका पालिका र कार्यालयहरूले भदौ १८ गते प्रस्तुत गर्ने जिल्ला समन्वय अधिकारी रामाश्रय यादवले जानकारी दिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य गोविन्द लम्सालले सिकाइ र अनुभव आदान–प्रदानले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।