वैदेशिक रोजगारीको नाममा ठगी गर्ने चार जना पक्राउ
273 पटक पढिएको
काठमाडौँ । आकर्षक तलब र सहज प्रक्रियाको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने गिरोहका चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पीडितहरूबाट प्राप्त उजुरीको आधारमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ बस्ने पर्सा विन्दावासिनी गाउँपालिका–५ घर भएका ३७ वर्षीय तुफायल मिया जोलाहा, काठमाडौं कीर्तिपुर नगरपालिका–५ बस्ने ५३ वर्षीय सहनसिल महर्जन, ललितपुर बस्ने रौतहट परोहा नगरपालिका–१ घर भएका २० वर्षीय बिक्रम साह र बाँके कोहलपुर नगरपालिका–१२ घर भएकी २७ वर्षीया हरिकला खाँण ठकुरी (थापा) रहेका छन्।
आकर्षक रोजगारको प्रलोभन
पक्राउ परेकामध्ये तुफायल मिया जोलाहाले माल्दिभ्स पठाइदिन्छु भन्दै एक जना पीडितसँग २ लाख ३० हजार रुपैयाँ असुलेका थिए। त्यस्तै, सहनसिल महर्जनले पोल्याण्ड पठाइदिन्छु भनी ६ लाख २५ हजार रुपैयाँ उठाएका थिए। बिक्रम साहले युएई पठाइदिन्छु भन्दै एक जनाबाट २ लाख १० हजार रुपैयाँ र हरिकला खाँण ठकुरीले पनि युएई पठाइदिन्छु भन्दै २ लाख २३ हजार रुपैयाँ असुलेको प्रहरीले जनाएको छ। रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएका थिए।
फरारबाट पक्राउसम्म
पीडितहरूले ठगीमा परेका उजुरी दर्ता गराएपछि अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले तुफायललाई काठमाडौं महानगरपालिका–२६ बाट, सहनसिललाई कीर्तिपुर नगरपालिका–५ बाट, बिक्रमलाई काठमाडौं महानगरपालिका–३२ बाट र हरिकलालाई काठमाडौं महानगरपालिका–१२ बाट नियन्त्रणमा लिएको हो।
अनुसन्धानका लागि विभागमा
प्रहरीले पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको जानकारी दिएको छ। प्रहरीका अनुसार वैदेशिक रोजगारीमा जाने सपना देखेर ठगीमा पर्ने घटनाहरू हालै बढिरहेका छन्, जसमा सजगता र कानुनी सचेतना अपरिहार्य रहेको बताइएको छ।








https://shorturl.fm/hGi5K