पूर्वराजा ज्ञानेन्द्र : समस्या देशभित्रै समाधान गर्नुपर्छ
311 पटक पढिएको
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो पुस्ताले सञ्चालन गरिरहेको आन्दोलनलाई शान्तिपूर्ण ढंगले अघि बढाउन आग्रह गर्दै देशभित्रै समस्याको समाधान खोज्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
मंगलबार संवाद सचिवालयमार्फत जारी विज्ञप्तिमा उनले जेनजी अभियानले उठाएका मागलाई सम्बोधन नगरी हिंसात्मक घटनामा परिणत हुनु दुःखद भएको उल्लेख गरेका छन् । “ज्यान लिनु र सयौंलाई घाइते पार्नु अत्यन्तै निन्दनीय कार्य हो, शान्तिप्रिय नेपाली समाजको मान्यताविपरीत छ,” विज्ञप्तिमा भनिएको छ ।
उनले आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति संवेदना प्रकट गरेका छन् । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
पूर्वराजाले पछिल्लो पुस्ताको आन्दोलन अराजक वा हिंसात्मक नबनोस् र यसमा कसैको बाह्य घुसपैठ नहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् । “सुशासन र आर्थिक अनुशासनका विषयलाई सम्बोधन गर्दै देशभित्रै समस्याको समाधान निकालियोस्,” उनले भनेका छन् ।








https://shorturl.fm/2t4PJ