धादिङ कारागारका कैदीले गेट फुटाएपछि सुरक्षाफौजको गोली, दुईजनाको मृत्यु, सात घाइते
423 पटक पढिएको
धादिङ ,२५ भदौ ।धादिङ कारागारका कैदीहरूले बुधबार बिहान मुख्य गेट फुटाएर बाहिर निस्कने प्रयास गर्दा सुरक्षाकर्मीको गोली लागी दुई कैदीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार गोली लागेर मृत्यु हुनेमा बेनीघाट रोराङ गाउँपालिका-४ का ६१ वर्षीय जीतबहादुर घले र नवलपरासी सुनवल नगरपालिका–१२ का ३६ वर्षीय इन्द्रबहादुर डाला रहेका छन्।
घाइते हुनेमा धुनिबेसी–७ का ८५ वर्षीय डम्बरबहादुर दाहाल, गजुरी–६ का ६७ वर्षीय कृष्णबहादुर मोक्तान, त्रिपुरासुन्दरी–१ का ४२ वर्षीय कपिल परियार र ४६ वर्षीय देवराज अधिकारी, गजुरी–८ का ४२ वर्षीय मेमबहादुर तामाङ, नीलकण्ठ–७ का ४१ वर्षीय रामशरण परियार र नेत्रावती डबजोङ–५ का ३४ वर्षीय विकास गुरुङ छन्।
घाइते सबैलाई धादिङ अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको अस्पतालकी सूचना अधिकारी डा. अस्मिता कटुवाल क्षेत्रीले जानकारी दिनुभयो।
गोली चलाउनुपर्ने अवस्था
कैदीहरूले कारागारभित्र आगजनी .ढुंगामुढा र गेट फोडेर भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मीले नियन्त्रण बाहिर जाने अवस्था देखेर गोली चलाउनु परेको जिल्ला प्रशासनले जनाएको छ। उक्त घटनामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालनमा थिए।
आन्दोलनको कारण
कैदीहरूले हालै नख्खु कारागारबाट पूर्व गृहमन्त्री रवि लामिछाने सहित अन्य कैदीहरू रिहा भएको प्रसंगलाई अगाडि सार्दै आफूहरूलाई पनि रिहा गर्न माग गरेका थिए। माग पूरा नभएपछि उनीहरू आक्रोशित भई कारागारभित्र आगजनी र तोडफोडमा उत्रिएका थिए। नीलकण्ठ नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
कडा सुरक्षा
हाल धादिङ कारागार परिसर वरिपरि कडा निगरानी गरिएको छ। सो कारागारमा अहिले २३४ जना कैदीबन्दी छन्, जसमा ९ जना महिला पनि रहेका छन्।








https://shorturl.fm/jtOUA