इलाम–२ का सांसद सुहाङ नेम्बाङको अपिल : ‘जेन–जी आन्दोलनलाई संविधानसम्मत् बाटोबाट अघि बढाऔं’
364 पटक पढिएको
इलाम, २६ भदौ – इलाम क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद सुहाङ नेम्बाङले हालको ‘जेन–जी आन्दोलन’ सम्बन्धमा अपिल जारी गर्दै शान्तिपूर्ण र संवैधानिक बाटोबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
नेम्बाङले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको आन्दोलनमा मारिएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले भने, “सडकमा आएका नौजवान साथीहरूलाई भएको बर्बर दमन गलत थियो। दोषी पहिचान गरेर कानुन अनुसार कारबाही हुनुपर्छ।”
नेम्बाङले आन्दोलनको आडमा भएका लुटपाट, तोडफोड र आगजनी घटनाप्रति चिन्ता व्यक्त गर्दै त्यसले जेन–जी पुस्तालाई बदनाम गर्न खोजिएको टिप्पणी गरेका छन्। उनले यस्तो घटनाको उच्चस्तरीय न्यायिक छानबिन हुनुपर्नेमा जोड दिए।
उनका अनुसार जेन–जी आन्दोलनका माग सम्बोधन गर्न राष्ट्रपति र प्रधानसेनापति वार्तामा रहेको र समाधान संविधानसम्मत् विधिबाटै आउनेमा आफू आशावादी रहेको बताएका छन्।
नेम्बाङले भनेका छन् । “हामीले अघिल्लो पुस्ताबाट पाएको राजनीतिक र संवैधानिक उपलब्धि जोगाएरै अघि बढ्नुपर्छ। प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार र प्रेस स्वतन्त्रता नै सुन्दर देश निर्माणको आधार हो।”
युवाहरुलाई आह्वान गर्दै उनले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षा गर्दै सुन्दर भविष्य निर्माणमा जुट्न आग्रह गरेका छन्। साथै, आन्दोलनका नाममा हुने अराजक गतिविधि अस्वीकार गरी आचारसंहिता र मूल्य–मान्यतासहित अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।








https://shorturl.fm/rK9DB
https://shorturl.fm/N7BkZ