लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन सबै लोकतन्त्रवादी एक हुनुपर्छ -एमाले अध्यक्ष त्रिपाठी
398 पटक पढिएको
धादिङ, – नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङले जेन–जी पुस्ताद्वारा भदौ २३ गते भएको प्रदर्शनमा भएको ठूलो मानवीय क्षति र त्यसपछिका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
पार्टीका जिल्ला अध्यक्ष भूमि त्रिपाठीले शुक्रवार बिज्ञप्ति जारी गर्दै संविधानको रक्षाका लागि लोकतन्त्र पक्षधरहरु एक हुनुपर्ने बेला भएको वताउनु भएको छ।
विज्ञप्तिमा प्रदर्शनमा परी ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, ठूलो संख्यामा युवाको ज्यान जाने अवस्था सिर्जना भएकोप्रति पार्टीले घोर भर्त्सना गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरेको छ।
पार्टीले भदौ २४ गते सुरक्षा निकायको रोहवरमै भएको देशव्यापी आगजनी, तोडफोड, लुटपाट र कैदीबन्दीको सामूहिक फरार घटनाले राष्ट्रलाई दशकौँ पछाडि धकेलेको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “१३ हजारभन्दा बढी कैदीबन्दी जेलबाट निस्कँदा शान्ति–सुरक्षामा गम्भीर चुनौती थपिएको छ, कतिपय स्थानमा मानिसहरू जिउँदै जलाइएका छन्, यो अपूरणीय क्षति हो।”
प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न राजनीतिक संकटतर्फ इंगित गर्दै एमाले धादिङले समाधान संविधानसम्मत र लोकतान्त्रिक बाटोबाटै खोजिनुपर्नेमा जोड दिएको छ। पार्टीले भनेको छ, “जेन–जीले उठाएका एजेण्डा हाम्रै छोराछोरीका एजेण्डा हुन्। उनीहरूले संविधान र व्यवस्थाभित्रै माग अघि सारेका छन्। देश जलाउने काम उनीहरूबाट हुनै सक्दैन तर उनीहरूको नाम प्रयोग गरेर प्रतिक्रियावादी शक्तिले राष्ट्र अस्थिर बनाउन खोजेका छन्।”
एमालेले लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन सबै लोकतन्त्रवादी दल, संघ–संस्था, पत्रकार, राष्ट्रसेवक कर्मचारी र आम नागरिकलाई सचेत रहन आह्वान गरेको छ। साथै, जनतालाई सुरक्षा अनुभूति दिलाउन सर्वपक्षीय सुरक्षा दस्ता निर्माण गर्नुपर्ने आवश्यकतामाथि जोड दिएको छ।









https://shorturl.fm/Bl6fR