जेनजी आन्दोलनमा ५१ जनाको मृत्यु, सबै आन्दोलनकारी नभएको प्रहरीको दाबी

277 पटक पढिएको

२७ भाद्र २०८२, शुक्रबार १५:४३ सम्पादक: धादिङ न्यूज

काठमाडौं – जेनजी आन्दोलन सुरु भएदेखि हालसम्म देशभर ५१ जनाको मृत्यु भएको केन्द्रीय प्रहरीले जनाएको छ। तर, ती सबै आन्दोलनकारी नभएको प्रवक्ता डीआईजी विनोद घिमिरेले स्पष्ट पारेका छन्।

प्रहरीका अनुसार मारिएको भनी सार्वजनिक भएको विवरणमध्ये  १८ जनाको पहिचान अझै खुलेको छैन। अन्य ३२ मृतक पनि सबै जेनजी आन्दोलनकारी नभएको घिमिरेले बताए । जो जेनजी आन्दोलनकारी हैनन्, ती हुलमुलमा परेर मारिएको उनको भनाइ छ । तर, उनीहरु को हुन् भन्ने पहिचान खुलाउने सिलसिला शुरु भएको उनले बताए ।

भारतीय नागरिकसमेत मारिए

आन्दोलनका क्रममा केही भारतीय नागरिक पनि मारिएको प्रहरीले पुष्टि गरेको छ।

बौद्धस्थित होटल हायातमा भएको तोडफोडका क्रममा त्यहाँ बसिरहेकी एक भारतीय महिला पर्यटक लडेर घाइते भइ अस्पतालमा भर्ना भएकी थिइन्। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य केही मृतक भारतीय नागरिक रहेको सूचनाप्राप्त भए पनि पहिचान खुलाइएको छैन।

 कर्मचारी पनि मृत्यु हुनेमध्ये

मृतकहरूमा निजामती र फौजी कर्मचारी समेत परेका छन्। प्रहरीले पहिचान खुलाउने काम अघि बढाइरहेको र पहिचान भएका मृतकहरूको शव आफन्तलाई बुझाउने कार्य सुरु भइसकेको जनाएको छ।