सेनाको नियन्त्रणमा रहेका निवर्तमान प्रधानमन्त्री ओली सहित मन्त्रीहरू घर फर्किए
292 पटक पढिएको
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सुरक्षा दिने भन्दै नेपाली सेनाको ब्यारेकभित्र राखिएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरू घर फर्किन थालेका छन्।
आन्दोलन चर्किएपछि संवेदनशीलता बढेको भन्दै तत्कालीन सरकारका मन्त्रीहरूलाई सेनाले विभिन्न गणमा राखेको थियो। तीमध्ये भैरवनाथ गणमा रहेका केही मन्त्रीहरू शनिवारदेखि आफ्ना निवास फर्किएका हुन्।
ब्यारेकमा रहँदा उनीहरूलाई सुरक्षा संवेदनशीलताको नाममा मोबाइल प्रयोग गर्न समेत रोक लगाइएको थियो। तर, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएपछि उनीहरूलाई मोबाइल प्रयोग गर्ने अनुमति दिइएको थियो ।
यससँगै लामो समय सेनाको निगरानीमा रहेका ओलीसहित मन्त्रीहरू सामान्य जीवनतर्फ फर्किन थालेका छन्।
भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा केही अपराधिक समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित अधिकांश पूर्वमन्त्री र नेताहरूको निजी निवासमा आगजनी, चोरी र तोडफोड गरेका छन्।
आन्दोलनका नाममा भएका यस्ता आपराधिक गतिविधिले नेताहरूको निजी सम्पत्ति नष्ट भएको छ। आगजनी र तोडफोडका कारण धेरैजसो घर तथा सामग्री ध्वस्त बनेका छन् भने केही नेताहरूको परिवारजनोंलाई समेत समस्या परेको बताइएको छ।
स्रोतका अनुसार, घटनाबाट धेरै नेताहरू घर–सम्पत्तिविहीन भएका छन्। आन्दोलनलाई ढाल बनाएर गरिएको यस्तो गतिविधि राजनीतिक आन्दोलनभन्दा पनि आपराधिक कृत्य भएको भन्दै प्रभावित पक्षहरूले तत्काल छानबिन र दोषीमाथि कानूनी कारबाहीको माग गरेका छन्।








https://shorturl.fm/8xD70
https://shorturl.fm/yU0PP