लुटपाट भएका सामान नकिन्न धादिङ प्रहरीको सार्वजनिक अपिल

287 पटक पढिएको

३ आश्विन २०८२, शुक्रबार ०८:३८ सम्पादक: धादिङ न्यूज

धादिङ । गएको भाद्र २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, बैंक तथा वित्तीय संस्था लगायतका स्थानबाट लुटपाट भएका महत्वपूर्ण कागजात, ऐतिहासिक दस्तावेज, बहुमूल्य वस्तु, नगद, हातहतियार लगायतका सामग्रीहरू बजारमा बिक्री वितरण भइरहेको सूचनापछि जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक अपिल जारी गरेको छ।

प्रहरीले यस्ता चोरी तथा लुटपाट भएका सर-सामानहरूको खरिद तथा बिक्री नगर्न सबैलाई अनुरोध गरेको छ। साथै, यसबारे कुनै जानकारी भएमा नजिकको सुरक्षा निकायमा खबर गर्न वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रहरीको भनाइमा, “यस्ता चोरी तथा लुटपाट भएका सामानहरूको खरिद, बिक्री तथा संकलन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने व्यहोरा जानकारी गराइन्छ।”

सोहीअनुसार प्रहरीले शंकास्पद गतिविधि देखिए तुरुन्तै खबर गर्न अनुरोध गर्दै सम्पर्क नम्बर ०१०–५२०१९९ वा १०० मा सम्पर्क गर्न आग्रह गरेको छ।