बेनीघाट रोराङ गाउँपालिकाद्वारा भव्य शैक्षिक सम्मान कार्यक्रम सम्पन्न

454 पटक पढिएको

३ आश्विन २०८२, शुक्रबार २१:१३ सम्पादक: धादिङ न्यूज

  • रामचन्द्र रुपाखेती

बेनीघाट रोराङ,धादिङ, असोज ३ । राष्ट्रिय शिक्षा दिवस र संविधान दिवस २०८३ को अवसरमा बेनीघाट रोराङ गाउँपालिकाले शुक्रबार भव्य शैक्षिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

 गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’को अध्यक्षता, उपाध्यक्ष टाप बहादुर श्रेष्ठको  स्वागत मन्तव्य र शिक्षा अधिकृत बोधराज पाठकको सञ्चालनमा कार्यक्रम  गरिएको थियो । कार्यक्रम चन्द्रोदय मावि विशालटारमा भएको हो ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रतिनिधि लगायतको विशेष आतिथ्यमा आयोजित कार्यक्रममा कक्षा १२ मा ३.९६ देखि ३.६ भन्दा माथि जीपीए ल्याउने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको छ । त्यस्तै, कक्षा ५, ८ र SEE मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, ९० प्रतिशतभन्दा बढी नतिजा ल्याउने विषय शिक्षक, उत्कृष्ट इसिडी शिक्षक, कक्षा ३ सम्म अध्यापन गर्ने शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा वडा शिक्षा समिति समेत सम्मानित भएका छन् ।

गाउँपालिकाभरका विद्यालयमध्ये उत्कृष्ट औसत जीपीए ल्याउने विद्यालयलाई समेत पुरस्कृत गरिएको छ । साथै, निष्पक्ष मूल्यांकनका आधारमा गाउँ शिक्षा अधिकारी बोधराज पाठक, जिन्सी शाखा प्रमुख  सुमन अधिकारी तथा प्रशासन शाखा प्रमुख परशुराम घिमिरेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नाटक, नृत्य तथा मौलिक शैक्षिक गीत प्रस्तुत गरिएको थियो । स्थानीय शिक्षक, विद्यार्थी र अभिभावकको अनिवार्य उपस्थिति सुनिश्चित गरिएकाले कार्यक्रम अत्यन्तै भव्य र अनुशासित देखिएको सहभागीहरूले बताएका छन् ।

गाउँपालिकाले विगत ४–५ वर्षदेखि निरन्तर रूपमा शैक्षिक सम्मानलाई प्राथमिकता दिँदै आएको छ । प्रत्येक वर्ष पुरस्कार र सम्मानको दायरा विस्तार हुँदै गएको र यसले सम्पूर्ण शैक्षिक क्षेत्रलाई उत्प्रेरणा मिलेको सरोकारवालाहरूको भनाइ छ ।

कार्यक्रममा टाढा–टाढाबाट आएका सहभागीहरूको लागि बास र खानाको व्यवस्था समेत गरिएको थियो । यसरी गाउँपालिकाले शिक्षा क्षेत्रमा देखाएको प्राथमिकता र लगानीलाई उदाहरणीय मानिएको छ ।