मुग्लिन–नारायणगढ सडकखण्डमा निरन्तर पहिरो, सडक अझै अवरुद्ध

256 पटक पढिएको

४ आश्विन २०८२, शनिबार १८:५० सम्पादक: धादिङ न्यूज

चितवन, असोज ४ । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक हिजो साँझ करिब ६:३० बजेदेखि निरन्तर खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

मुग्लिनतर्फबाट लगातार ढुंगा खसिरहेकाले पहिरो पन्छाउने काममा कठिनाइ भएको बताइएको छ। यद्यपि नारायणगढतर्फबाट १ लोडर र १ एक्साभेटर परिचालन गरी निरन्तर पहिरो हटाउने कार्य भइरहेको छ।

सडक डिभिजनका अनुसार राति ११ बजेसम्म लाइटको सहायताले पहिरो पन्छाउने प्रयास गरिने भए पनि माथिबाट लगातार नयाँ पहिरो खसेपछि काम रोक्नुपरेको हो।

सडक डिभिजन चितवनका अनुसार मुग्लिनतर्फका ३ वटा लोडर सुरक्षाको दृष्टिकोणले हाल प्रयोग गर्न सकिएको छैन। थप पहिरो खस्ने क्रम रोकिएलगत्तै सबै उपकरण प्रयोग गरी सडक छिट्टै खुलाउने प्रयास हुने र सवारीसाधन आवागमन यथाशीघ्र सुचारु गर्ने प्रतिबद्धता जनाइएको छ।

डिभिजनले थप पहिरो खस्ने क्रम रोकिएलगत्तै सबै उपकरण परिचालन गरी सडक छिट्टै खुलाउने र सवारीसाधनको आवागमन सहज बनाउने जनाएको छ।