विरामी परेकी विद्यालय सहयोगी रिमालको उपचारका लागि डेढ लाख सहयोग

206 पटक पढिएको

६ आश्विन २०८२, सोमबार २१:१५ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको गजुरी गाउँपालिकाको पत्तालिनी आधारभूत विद्यालयकी सहयोगी अम्बिका रिमाल उपचार खर्चको अभावमा अस्पताल जान नसकेको थाहा पाएपछि गजुरी गाउँपालिकामा कार्यरत शिक्षक सुजन भण्डारीले सहयोगका लागि अपिल गरेका थिए । भण्डारीको फेसबुकमार्फत गरिएको उक्त अपिल केही घण्टामै प्रभावकारी बनेको छ ।

शिक्षक, शिक्षिका र सहयोगी कर्मचारीहरूले सहयोग संकलन गरेर जम्मा रु. एक लाख बाउन्न हजार सात सय छयानब्बे रुपैयाँ भण्डारीकै खातामा पठाएका थिए । संकलित रकम गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ र उपाध्यक्ष शर्मिला विसुरालको उपस्थितिमा रिमालका श्रीमान अशोक रिमाललाई चेकमार्फत हस्तान्तरण गरिएको छ ।

२०८२ असोज २ गतेदेखि बिरामी भई बोल्न नसक्ने अवस्थामा पुगेकी रिमाललाई पाटन अस्पतालमा सामान्य उपचार गरेपछि खर्च अभावमा घर फर्किएको थाहा पाएर आफूले अपिल गरेको भण्डारीले बताए । उनले भने, “एक थुकी सुकी, सय थुकी नदि भनेको सायद यही होला । सहयोग गर्ने सबैमा धन्यवाद छ ।”

रिमाललाई गाउँपालिकाको एम्बुलेन्समार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ । उपचारमा अझै कति खर्च लाग्ने हो भन्ने अनुमान भने छैन ।

 सहयोग संकलन गर्ने प्रमुख विद्यालय र व्यक्तिहरू:

  • भानुभक्त मा.वि. – रु. ११,९००।-
  •  महेन्द्रोदय मा.वि. – रु. १०,०९०।-
  • किराञ्चोक मा.वि. – रु. ९,१००।-
  • इन्द्रायणी आ.वि. – रु. ६,७००।-
  • किराञ्चोक कटुञ्जे मा.वि. – रु. ६,५०५।-
  • गजुरी पीडा मा.वि. – रु. ५,०००।-
  • डोल भञ्ज्याङ मा.वि.- रु. ५,०१०।-
  • अन्य विभिन्न विद्यालय र व्यक्तिगत दाताबाट प्राप्त भएको रकम समेत गरी जम्मा संकलन : रु. १,५२,७९६ ।-