दशैंका लागि घर हिंडेका सयौं यात्रु बाटैमा अलपत्र, तुईन खोलाको पहिरो पन्छाउन आज दिनभर लाग्ने
309 पटक पढिएको
चितवन, असोज ८ –चितवनको तुइनखोला क्षेत्रमा मंगलबार दिउँसो खसेको ठूलो पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध बनेको छ। सडक अवरुद्ध भएपछि दशैं मनाउन घर फर्किरहेका सयौं यात्रुहरू लगातार दुई दिनदेखि बाटोमै अलपत्र परेका छन्।
चितवन प्रशासन कार्यालय चितवनले ठूलो मात्रामा माटो र ढुंगा खसेकाले पहिरो पन्छाउन दिनभर समय लाग्ने जनाएको छ।
“मेसिन परिचालन गरिएको छ तर ढुंगामाटो धेरै भएकाले तत्काल खोल्न सकिने अवस्था छैन। जोखिम रहँदा यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ,” कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ।
धादिङको जवाङखोला क्षेत्रमा सोमबार राति सुख्खा पहिरो खसेर पृथ्वीराजमार्ग १८ घण्टा भन्दा बढी अबरुद्ध हुँदा हजारौं सवारी साधन जाममा परेका थिए। त्यसैबीच मंगलबार दिउँसो चितवनको तुइनखोलामा फेरि पहिरो खस्दा यात्रुहरू दोहोरो मारमा परेका छन्।
दशैं अवधिमा उपत्यकाबाट बाहिरिने यात्रुको भीड उच्च हुने भएकाले समस्या अझ गम्भीर बनेको छ।
धेरै यात्रु गाडीमै रात कटाउन बाध्य छन्। साना बालबालिका, महिला र वृद्धवृद्धा अत्यधिक समस्यामा परेका छन्। खाना–पानीको अभाव, स्वच्छतासम्बन्धी कठिनाइ, असुरक्षा र मानसिक तनाव बढेको यात्रुले बताएका छन्।
काठमाडौंबाट बाजुरातर्फ जाँदै गरेका कृष्ण अवस्थीभन्छन् –“सोमबार राती काठमाण्डौंबाट बाटो लागेका थियौं, दुई दिनदेखि बाटैमा छौं। गाडीमै सुत्नुपर्ने, खानपिन गर्न गाह्रो भएको छ। दशैंमा घर पुग्ने आशा नै टुटेको जस्तो लाग्छ।”
दशैंको लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूको ठूलो भीड यसैबेला नारायणगढ–मुग्लिन सडकखण्डमा रोकिएको छ। यातायात व्यवसायीहरूले लामो दूरीका गाडीहरू लगातार जाममा परेकाले यात्रुहरू असहज भएको बताएका छन्।
चितवन प्रशासनले यात्रु तथा सवारी चालकलाई धैर्य गर्न र अनावश्यक जोखिम मोलेर बाटोमा नबस्न आग्रह गरेको छ।
“पहिरो पन्छाउने काम भइरहेको छ। अझै केही समय लाग्छ। यात्रुहरूले सकेसम्म यात्रा स्थगित गर्नुपर्छ,” प्रशासनले जनाएको छ।








https://shorturl.fm/LjYkT