नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना
255 पटक पढिएको
काठमाडौँ । बडा दशैं तथा नवरात्रको तेस्रो दिन आज (बुधबार) नौ दुर्गामध्येकी तेस्रो रूप चन्द्रघण्टा देवीको पूजा–आराधना गरिएको छ । देवीले शिरमा अर्धचन्द्र र हातमा चन्द्रमा आधार भएको घण्टा धारण गर्ने भएकाले उहाँलाई ‘चन्द्रघण्टा’ नाम दिइएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्रविद् तोयराज नेपालका अनुसार चन्द्रघण्टा देवीको पूजा गर्दा शक्ति प्राप्त हुने विश्वास रहिआएको छ । मार्कण्डेय पुराणमा पनि चन्द्रमा जसको घण्टामा रहेको छ उनी चन्द्रघण्टा हुन् भनी व्याख्या गरिएको छ ।
उहाँको स्वरूप पहेँलो वर्णको, शान्त र करुणामयी मानिन्छ । चन्द्रघण्टा देवी अत्याचारी शक्तिको नाश गर्ने र भक्तलाई पापमुक्त गर्ने देवीका रूपमा वर्णन गरिएको छ । गीत–संगीत क्षेत्रमा संलग्न भक्तजनले विशेष गरी यस देवीको आराधना गर्ने परम्परा रहेको उपप्राध्यापक चिन्तामणि भट्टराईले बताए ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गर्ने परम्परा छ । नौ दिनसम्म दुर्गा सप्तशती, श्रीमद्देवीभागवत लगायतका स्तोत्र पाठसहित नवदुर्गाको साधना गर्ने धार्मिक मान्यता रहेको छ ।
देशभरका शक्तिपीठमा आज भक्तजनको भीड लागेको छ । देवी आराधनाबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वासका कारण प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गरिन्छ ।








https://shorturl.fm/uadPm