पासपोर्ट सूचकांकमा टप टेनबाट बाहिरियो अमेरिका, सिंगापुर शिर्षस्थानमा, नेपाल १०१औं स्थानमा यथावत्

259 पटक पढिएको

३० आश्विन २०८२, बिहीबार १४:१० सम्पादक: धादिङ न्यूज

काठमाडौँ, ३० असोज  – विश्वका देशहरूको पासपोर्ट शक्ति मापन गर्ने सूचकांकमा सिंगापुरले शीर्ष स्थान ओगटेको छ। हेन्ले एन्ड पार्टनर्सले जारी गरेको सन् २०२५ को नयाँ पासपोर्ट र्याङ्किङ अनुसार, सिंगापुरका नागरिकले बिना अग्रिम भिसा १९३ देशमा यात्रा गर्न सक्नेछन्।

यस सूचीमा अमेरिकाको पासपोर्ट टप १० बाट बाहिरिएको छ र अब १२औँ स्थानमा पुगेको छ। यसअघि अमेरिकाको पासपोर्ट १०औँ स्थानमा रहेको थियो।

दक्षिण कोरिया दोस्रो स्थानमा रहँदा जापान तेस्रोमा छ। दक्षिण कोरियाका नागरिकले १९० देशमा, जापानका नागरिकले १८९ देशमा अग्रिम भिसा बिना यात्रा गर्न सक्छन्।

युरोपेली देशहरू पनि अग्रणी स्थानमा छन्। जर्मनी, इटाली, लक्जेम्बर्ग, स्पेन र स्वीजरल्याण्ड चौथो स्थानमा छन् (१८८ देश), अस्ट्रिया, बेल्जियम, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आयरल्याण्ड, नेदरल्याण्ड्स पाँचौँ स्थान (१८७ देश) मा रहेका छन्।

नेपाली पासपोर्ट भने अझ कमजोर देखिन्छ। नेपाल १०१औँ स्थानमा झरेको छ, जहाँ नेपाली नागरिकले केवल ३६ देशमा अग्रिम भिसा बिना यात्रा गर्न सक्छन्।

छिमेकी देशहरूको स्थितिः

  • भारत: ८५औँ स्थान (अघिल्लो: ७७)
  • चीन: ६४औँ स्थान (अघिल्लो: ६०)
  • बंगलादेश: १००औँ स्थान
  • पाकिस्तान: १०३औँ स्थान
  • अफगानिस्तान: १०६औँ स्थान (विश्वकै कमजोर पासपोर्ट)

पासपोर्ट शक्ति कसरी मापन हुन्छ?
हेन्ले पासपोर्ट भिसा इन्डेक्स वर्षमा दुईपटक अपडेट हुन्छ। सूची बनाउँदा भिसा नीतिमा भएका परिवर्तनहरू, रियलटाइम डेटा र अन्तर्राष्ट्रिय यातायात संघका तथ्याङ्कहरूलाई आधार मानिन्छ। कुनै देशको राहदानीधारीले अग्रिम भिसा बिना कति देशमा यात्रा गर्न सक्छन् भन्ने आधारमा यसको र्याङ्क तय हुन्छ।