ओमानबाट २० जना नेपाली डिपोर्ट, साइबर ठगीमा संलग्न रहेको आरोप
296 पटक पढिएको
काठमाडौं, १ कार्तिक । ओमानबाट २० जना नेपालीलाई साइबर ठगीमा संलग्न रहेको आरोपमा देश निकाला गरिएको छ। मस्कटस्थित नेपाली दूतावासका द्वितीय सचिव बिशेष कुमार साहका अनुसार ती नेपालीलाई ओमानको सोहारस्थित डिटेन्सन सेन्टरमा पक्राउ गरी अनुसन्धानका लागि राखिएको थियो।
सचिव साहका अनुसार तीमध्ये ११ जनाको प्रक्रिया पूरा भई नेपाल फर्काइएको छ भने बाँकी ९ जनालाई पनि निकट भविष्यमा डिपोर्ट गर्ने तयारी भइरहेको छ। करिब सात महिना अघि रोयल ओमान प्रहरीले उनीहरूलाई पक्राउ गरेको दूतावासले जनाएको छ।
घटनाबारे एनआरएनए नेपाली सोसल क्लब ओमानका अध्यक्ष सुरेश खड्काले जानकारी दिँदै भने,
“करीब ६ महिना अघि हामीलाई केही व्यक्तिहरूबाट जानकारी आएको थियो कि दुबईमा काम गर्ने केही नेपालीहरू भिजिट भिसामा ओमान प्रवेश गरेका छन् र सोहारमा प्रहरीको नियन्त्रणमा छन्।”
उनका अनुसार पछि बुझ्दा ती नेपालीहरू एउटा चिनियाँ कम्पनीमा नेटवर्किङ्ग व्यवसायमा संलग्न रहेको पाइएको हो। सो व्यवसायमा संलग्न नेपाली मात्र नभई अन्य देशका गरी करिब १०० जनालाई ओमान प्रहरीले पक्राउ गरेको थियो।
एनआरएनए केन्द्रीय सदस्य देवन खड्काले पक्राउ परेकाहरूको अवस्थाबारे बुझ्ने, भेटघाट गर्ने र नेपालमा रहेका परिवारसँग सम्पर्क गराउने काम गर्दै आएका थिए। दूतावास र देवन खड्काको समन्वयले नै उनीहरूको स्वदेश फिर्ती प्रक्रिया सहज भएको दूतावासले जनाएको छ।
दूतावासका अनुसार पछिल्लो समय दलालको प्रलोभनमा परेर आकर्षक रोजगारीको आशमा भिजिट भिसा लिएर ओमान पुगेका नेपालीहरू ठगी र अवैध कार्यमा फस्ने क्रम बढ्दो छ। विशेषगरी महिलाहरू उद्धारका लागि दूतावासमा सहयोग माग्दै आउने संख्या पनि उल्लेखनीय रूपमा बढेको जनाइएको छ।








https://shorturl.fm/FPlsG
https://shorturl.fm/FiRD3