आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस देशभर मनाइँदै
206 पटक पढिएको
काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती तथा आरोग्यता दिवसआज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।
वनजङ्गलमा पाइने जडिबुटीमा आधारित वैदिक चिकित्सापद्धति ‘आयुर्वेद’ का प्रवर्तक भगवान् धन्वन्तरीको जन्म सम्झना स्वरूप यो दिवस मनाइने गरिएको हो।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान त्रयोदशी तिथि परेकाले यही दिन धन्वन्तरी जयन्ती मनाइँदैछ।
वैदिक सनातन ग्रन्थका अनुसार देव र असुरहरूले नागको नेती र मन्दराचल पर्वतको मदानी बनाएर समुद्र मन्थन गर्दा, रोग निवारणका लागि भगवान् धन्वन्तरी अमृत कलश बोकी प्रकट भएको उल्लेख पाइन्छ।
यस दिन आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी नयाँ शुभकार्य प्रारम्भ गर्ने परम्परा रहेको छ।
नेपालमा विधिवत् रूपमा धन्वन्तरी जयन्ती मनाउने चलन काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पस स्थापना भएपछि सुरु भएको हो। त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका रूपमा स्थापना भएको सो क्याम्पस हाल त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत कीर्तिपुरमा अवस्थित छ।
वि.सं. २०५६ देखि यस दिनलाई ‘आरोग्यता दिवस’ का रूपमा पनि मनाउन थालिएको हो। भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा प्रणालीका संस्थापकका रूपमा सम्मान गरिन्छ। उहाँले हातमा आयुर्वेद ग्रन्थ र जडिबुटी धारण गर्नुभएको प्रतीकात्मक चित्रमा रोग निवारण र स्वास्थ्य संरक्षणको सन्देश झल्किन्छ।








https://shorturl.fm/pkIaZ