आज लक्ष्मीपूजा,कुकुर तिहार तथा नरक चतुर्दशी पनि आजै

212 पटक पढिएको

३ कार्तिक २०८२, सोमबार ०६:३२ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षाका प्रतीक कुकुरलाई पूजा आराधनासहित मीठा–मीठा परिकार खान दिएर सम्मान गर्दै कुकुर तिहार मनाइँदैछ। यसवर्ष तिथिको घटबढका कारण कुकुर तिहार, नरक चतुर्दशी र लक्ष्मी पूजा एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका सदस्य प्राध्यापक देवमणि भट्टराईका अनुसार सूर्योदयकालमा चतुर्दशी परेको हुनाले आज तीनवटै पर्व एकसाथ मनाइँदैछ।

कुकुर तिहारमा घरपालुवा कुकुरलाई फूलमाला, टिका र मीठा परिकार खान दिएर पूजा गरिन्छ। धर्मशास्त्रविद् रामचन्द्र गौतमका अनुसार कुकुर तिहार मनाउने धार्मिक विश्वास यमराजका दुई द्वारपाल श्याम र सबलसँग सम्बन्धित छ।  कुकुरलाई सम्मान गर्नेले मृत्यु पश्चात् यमलोक पुग्दा सहज बाटो पाउँछन्। वैदिक ग्रन्थमा धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा साथ दिने कुकुरको प्रसङ्ग पनि पाइन्छ।

आज बिहानै अरुणोदयकालमा तीर्थ, नदी वा पोखरीमा स्नान गरी यमदीप दक्षिण फर्काएर बगाउने चलन छ। यसरी बत्ती बगाउँदा मृत्युपछि नरक दर्शन नहुने विश्वास छ। यस दिनलाई ‘नरके बगाउने दिन’ पनि भनिन्छ। तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने आयुर्वेदिक परम्परा पनि चलनमा छ। आयुर्वेद चिकित्सक वंशदीप शर्मा खरेलका अनुसार तिल तेल स्नानले शरीरमा गर्मी सन्तुलनमा रहन्छ र रोग प्रतिरोधात्मक शक्ति बढाउँछ।

कात्तिक कृष्ण औंसी परेकाले लक्ष्मीपूजा पनि आजै साँझ गरिँदैछ। घरका झ्याल–ढोका, कोठा, आँगनदेखि कौसीसम्म सफा–सुग्घर र लिपपोत गरी दीपावली गरिएको छ। धन–ऐश्वर्यकी देवी लक्ष्मीलाई आमन्त्रण गर्नका लागि घरमा लक्ष्मीको पाइला चामलको पीठो र अबीरले बनाइने चलन रहिआएको छ। दियोमा तेल राखेर बत्ति बाल्ने वैदिक परम्परा आज पनि निरन्तर छ। पूजामा गणेश, कुबेर, लक्ष्मी, कलश, धन, गरगहना, फलफूल र सेलरोटी अर्पण गरिन्छ। पूजा पछि कन्या बालिकालाई लक्ष्मीको प्रतीक मानी पूजा र दक्षिणा दिने चलन पनि छ।

आज साँझ युवतीहरूले समूह बनाई घरघरमा भैलो खेल्ने परम्परा छ। ‘भलो होस्’ भन्ने शब्द कालान्तरमा ‘भैलो’मा परिणत भएको विश्वास गरिन्छ। भैलोमा सहभागी हुनेलाई धान, चामल, पैसा र सेलरोटी दिने चलनलाई पुण्यदायी मानिन्छ। धार्मिक मान्यताअनुसार भगवान् विष्णुले यमपञ्चकका पाँच दिन बलिराजालाई तीनै लोकको शासन गर्न अनुमति दिएका थिए, त्यसकै सम्झनामा घरघरमा भैलो खेल्ने परम्परा बसेको बताइन्छ।

कतिपय ठाउँमा आजै बिहान गाई पूजा पनि गरिएको छ। तर धर्मशास्त्रविद् भट्टराईका अनुसार औंसीपछि कात्तिक शुक्ल प्रतिपदाबाट गाई पूजा गर्ने शास्त्रीय उल्लेख छ। आजको रातलाई सुखरात्रि पनि भनिन्छ। देशभर दीपमालिकाले झिलिमिली बनाएको वातावरणमा आजको तिहार उल्लासपूर्वक मनाइँदैछ।